November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पुँजीबजारमा नयाँ वित्तीय औजार ल्याउने तयारी

२०७७ फाल्गुन १४

2.5K

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पुँजीबजारमा दुई वटा नयाँ वित्तीय औजार थपेर फरक प्रकृतिको कारोबार प्रणाली सुरु गर्ने तयारी थालेको छ। नेप्सेले निकट भविष्यमै कार्यान्वयनमा ल्याउने गरी ‘स्टक मार्केट इन्डेक्स फ्युचर’ र ‘इक्विटी बेस्ड डेरिभेटिभ’ कारोबार प्रणालीबारे अध्ययन भइरहेको जनाएको छ।

विश्वका अरू मुलुकले पुँजीबजार कारोबारमा यस्ता औजार लागू गरेका भएपनि नेपालमा भने अहिले एउटा मात्र कारोबार प्रणाली सञ्चालनमा छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार फरक प्रकृतिका वित्तीय औजार कार्यान्वयन र धितोपत्रको कारोबार गर्न सम्भावनाबारे अध्ययन भएको थियो। अध्ययनले फ्युचर इन्डेक्स र स्टक इन्डेक्समा आधारित कारोबार प्रणाली विकास गर्ने सम्भावना देखाएको छ।

‘हामीले गरेको अध्ययनबाट २ वटा इन्डेक्स पहिचान भएका छन्। पछि विस्तारै अरु समूहगत रुपमा पनि जान सकिन्छ,’ पराजुलीले भने, ‘सुचीकृत कम्पनीको आधार सम्पत्ति (अन्डरलाइङ एसेट) हेरेर यस्ता औजार विकास गरिन्छ। निश्चित मापदण्डका आधारमा कम्पनीको वर्गीकरण गरेर यी टुल प्रयोगमा ल्याउन सकिन्छ।

Advertisement

यस्तो खालको कारोबार सुरु गर्न कम्पनीले निश्चित मापदण्ड पूरा गरेको हुनुपर्ने पराजुली बताउँछन्। ‘ठूलो पुँजी र पर्याप्त तरलता भएको, दोस्रो बजारमा राम्रो कारोबार भइरहेको, वित्तीय अनुशासन पालना गरेको तथा पारदर्शिताका साथै अन्य वित्तीय सूचक पनि ‘राम्रो’ रहेका कम्पनीलाई छुट्याएर हामीले यी औजारमार्फत् धितोपत्र कारोबार गर्न सक्छौं,’ उनले भने, ‘उदाहरणका लागि बैंकिङ समूहलाई यस्तो खालको कारोबारका लागि सम्भावना देखिएको छ। तर सबै बैंकले मापदण्ड पूरा गर्छन् भन्ने हुँदैन।’

पुँजीबजारको कारोबारमा कार्यान्वयनमा ल्याउन लागिएका यी वित्तीय औजारका लागि नयाँ प्रणाली विकास गर्ने वा नेप्सेको अहिलेकै प्रणालीलाई थप सुदृढ तथा व्यवस्थित गरी संचालनमा ल्याउने भन्नेबारेमा पनि अध्ययन भइरहेको नेप्सेले जनाएको छ। यी प्रणाली कार्यान्वयनमा ल्याउनका लागि विनियमावली निर्माण र व्यवसायिक योजना बनाउने क्रममा नेप्से छ। 

‘विनियमावली र व्यावसायिक योजना बनाउने क्रममा छौं,’ पराजुलीले भने, ‘पुँजीबजारमा यी वित्तीय औजार कार्यान्वयनमा ल्याउँदा हामीलाई हुने फाइदा र यसका लागि आवश्यक प्रविधि, जनशक्ति तथा सांगठनिक संरचना निर्माणका विषयमा हामी छलफलकै क्रममा छौं।’

नेप्सेले कार्यान्वयनमा ल्याउन खोजेका यी औजार धितोपत्र बोर्डबाट स्वीकृत भइसकेका छैनन्। अहिले प्रारम्भिक चरणकै काम भइरहेको र सबै तयारी पूरा भएपछि बोर्डको स्वीकृतिका लागि लैजानै तयारीमा नेप्से छ। नेप्सेले यी औजार कार्यान्वयनमा लैजाने भएपछि धितोपत्र बोर्डले पनि कानुनी र नीतिगत प्रक्रियाबारे तयारी सुरु गरिसकेको छ। ‘अध्ययनपछिको सुझाव आएपछि हामी अरु काम सुरु गर्छौं। नेप्सेले कसरी काम गर्न खोजेको हो, त्यसको खाका बोर्डमा पठाउन भनेका छौं। नेप्सेले त्यसको अध्ययन पनि गरिसकेको छ र रिपोर्ट आएपछि बोर्डले पनि पहल थाल्छ,’ बोर्डका प्रवक्ता निरज गिरीले भने। 

के हो ‘इन्डेक्स फ्युचर’ र ‘इक्विटी बेस्ड डेरिभेटिभ’?
सेयर खरिद बिक्रीसम्बन्धी भविष्यका लागि गरिने कारोबार प्रणाली ‘स्टक मार्केट इन्डेक्स फ्युचर’ हो। लगानीकर्ताले भविष्यको इन्डेक्सलाई अनुमान गरी कारोबार गर्छन्। इन्डेक्स फ्युचर पुँजीबजारको हेजिङ, कारोबार र लगानीका उद्देश्यले गरिन्छ। यसको उपयोग सूचीकृत कम्पनीको मौजुदा इक्विटीको स्थितिको हेजिङ गर्ने उद्देश्यले पनि गरिन्छ भने ‘मार्केट सेन्टिमेन्ट’को मुख्य सूचकका रूपमा पनि इन्डेक्स फ्युचरलाई हेर्ने गरिन्छ। 

पुँजीबजारमा यस्तो कारोबार प्रणालीलाई ‘जिरो–सम गेम’का रुपमा पनि लिइने गरिन्छ। एक व्यक्तिको क्षति अर्को व्यक्तिको आम्दानीसरह हो भन्ने सिद्धान्तलाई आधार मानिन्छ। इन्डेक्स ट्रेडिङमा सिधै रकम भुक्तानी हुन्छ भने ‘इक्विटी बेस्ड फ्युचर’मा सेयरको लेनदेन अर्थात् ‘फिजिकल डेलिभरी’ र ‘क्यास सेटलमेन्ट’ दुई वटै तरिकाबाट कारोबार गर्न सकिन्छ।  

इक्विटी डेरिभेटिभ वित्तीय औजार हो। यस्तो कारोबार प्रणालीमा इक्विटी बेस्ड डेरिभेटिभसँग मिल्दोजुल्दो हुनेगरी ‘इक्विटी बास्केट डेरिभेटिभ’को अवधारणा पनि विश्व पुँजीबजारमा प्रचलनमा छ। जसमा फ्युचर, अप्सन र स्वापजस्ता उपकरण प्रयोग गरिन्छ जुन सेयरको नन-इन्डेक्स बास्केटका रूपमा अन्तर्निहित हुन्छन्। 

विश्वका प्रतिष्ठित र ठूला सेयर बजारले मुद्राको सट्टेबाजी अप्सन र फ्युचर, धितोपत्रको अप्सन र फ्युचर, इन्डेक्स अप्सन र फ्युचर विनिमयजस्ता तरिका अपनाउने गरेका छन्। पुँजीबजारसम्बन्धी विश्वभर स्थापित मान्यता र प्रावधानलाई नेपालको हकमा पनि अनुसरण गर्ने उद्देश्यले नेप्सले यो प्रक्रिया अगाडि बढाएको हो।