February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

राष्ट्रिय सभाको अध्यक्ष दाहालसँग एनआरएनए अध्यक्षको भेट

1.2K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर बधाई तथा शुभकामना व्यक्त गरेको छ । नेपालको संविधान २०७२ अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय सभाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा संघको तर्फबाट बधाई ज्ञापन गरिएको हो ।

सो क्रममा अध्यक्ष डा केसीले संघले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई एकीकृत गर्दै हाल विश्वका ८६ वटा मुलुकहरुमा राष्ट्रिय समन्वय परिषद्हरु गठन गरी आफ्नो सञ्जाल विस्तार गर्दै आएको जानकारी गराउँदै यस सञ्जालको माध्यमबाट संघले नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए । सो क्रममा अध्यक्ष डा केसीले गैरआवासीय नेपालीले उठाएका मुद्दाप्रति नेपाल सरकारले हालसम्म गरेका विभिन्न नीतिगत व्यवस्था र तिनको कार्यान्वयनका लागि कृतज्ञता व्यक्त गरे ।

यस्तै, नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध क्षेत्रको समृद्धिको लागि सरकार तथा सरोकारवालाहरुसँग हातेमालो गर्दै सहकार्यका लागि संघको तर्फबाट प्रतिबद्धता जनाए ।
जवाफमा राष्ट्रिय सभाध्यक्ष दाहालले आफू गैरआवासीय नेपाली संघले गर्दै आएका आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधिसँग जानकार रहेको बताए । आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिँदै आर्थिक विकास र समृद्धिका लागि हातेमालो गर्न आग्रह गरे । सो क्रममा अध्यक्ष डा केसीसहित, उपमहासचिव सोम सापकोटा, महिला सचिव टीका गुरुङ, एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्रको लगायतको उपस्थिति रहेको थियो ।

Advertisement