April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एकपटकका नेपालीका छोराछोरी र नातिनातिनासम्म पनि नेपाली नै हुन्- वर्षमान पुन

1.2K

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गैरआवासीय नेपालीका शाखा सन्तानहरूको हैसियत नेपालीकै हुने बताए । शनिबार एक भर्चुअल कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) द्वारा आयोजित भर्चुअल अन्तरक्रियामा बोल्दै पुनले भने, ‘अध्ययनको सिलसिला अवसरको खोजी वा अन्य बाध्यताले नेपालीहरू विभिन्न देशमा पुग्नुभएको छ। ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने एनआरएनएको भावनात्मक नाराले हामी नेपालमा भएकाहरूको मन छुन्छ । तपाईंहरूको नारामा पूर्ण सहमत हुँदै म भन्न चाहन्छु, एकपटकका नेपालीका छोराछोरी र नातिनातिनासम्म पनि नेपाली नै हुन्।’ 

त्यही कारण धेरै लामो बहस र छलफलपछि संविधानमा गैरआवासीय नागरिकताको प्रावधान राखिएको पुनले बताए। उनले भने, ‘संविधान लेखनका क्रममा हाम्रो बीचमा धेरै छलफल र बहसहरू भए । अन्तिममा हामी विदेशमा रहेका नेपालीलाई गैरआवासीय नागरिकता दिनुपर्छ। राजनीतिक बाहेक वंशज वा अंगीकृत नागरिकले पाउने सबै अधिकार एनआरएनएहरूले पाउनुपर्ने भन्ने व्यवस्था हामीले गरेका छौं।’

Advertisement

नेपाली नागरिकताको निरन्तरताबारे एनआरएनएले उठाउँदै आएको मागबारे राजनीतिक तहमा र संसदमा छलफल हुन सक्ने उनको भनाइ थियो। 

एनआरएनएले पाउने भनिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे ऐन, नियमावली र कार्यविधिमा कुनै अस्पष्ट व्यवस्था भए परिमार्जनमार्फत व्यवहारिक बनाइनुपर्ने पनि उनले बताए ।