March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

प्रेम गाहामगरद्धारा शेष घले समूह र युकेका पञ्जिकृत सदस्यहरुप्रति धोका, ४६ हजार पाउण्ड रातारात बालुवाटार ट्रान्सफर

5.5K

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेका निलम्वित अध्यक्ष प्रेम गाहा मगरले एनआरएनए यूकेको खाताबाट अनधिकृत रुपले ४६ हजार ८ सय १५ पाउण्ड स्टर्लिङ बालुवाटार कार्यालय पठाएपछि आफ्नो पदको नैतिक र सामाजिक हैसियत पनि गुमाएका छन् । गत बिहिबार जुलाई २८ को दिन उनले महासचिवलगायत समितिका कतिपय पदाधिकारीहरुलाई जानकारी नगराई उक्त रकम नेपाल पैठारी गरेका हुन् ।

एनआरएनए यूकेका पञ्जिकृत सदस्यहरुबाट गत बर्ष सदस्यता शूल्कमार्फत उठेको उक्त लेवी रकम “आउने साधारण सभामा पञ्जिकृत सदस्यहरुलाई सोधेर मात्रै कोष परिचालन गर्ने” भन्दैआएको भएपनि अन्तमा आएर सुनियोजित रुपमा आफूनिकटका पदाधिकारीहरुसित मिलेर रातारात काठमाण्डौंस्थित सानिमा बैंकमा जम्मा गरेपछि पञ्जिकृत सदस्यहरुको नजरमा प्रेम गाहा मगरले अध्यक्ष भइरहने सामाजिक र नैतिक हैसियत पनि गुमाएका हुन् ।

एनआरएनएको माथिल्लो तह “आइसीसीको कुनै पनि नीति र निर्देशनहरु नमानेको” भन्दै कुल आचार्यनेतृत्वको संस्थापन पक्षले यसअघि नै प्रेम गाहा मगर वैधानिक रुपले एनआरएनए यूकेको अध्यक्ष नभएको धारणा सार्वजनिक गरेको हो । त्यसरी आफ्नो गुमेको पद हासील गर्न गाहा मगरले कुल आचार्य पक्षसंग सम्झौता गरेपनि उनको यस कदमबाट बेलायतस्थित पञ्जिकृत सदस्यहरु, विनोद कुँदर नेतृत्वको एनआरएनए र नेता शेष घले स्वयं रुष्ट बन्ने पक्का छ ।

Advertisement

उनको यस कदमबाट यूकेका पञ्जिकृत सदस्यहरुप्रति धोका भएको भन्दै महासचिव खुशी लिम्बुले फेसबूक स्ट्याटसमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले भनेका छन्, “पञ्जिकृत सदस्यहरुबाट उठेको उक्त कोषले बेलायतमा नेपाल हाउस किन्ने भनेर विगत एक बर्षसम्म बेलायतवासी नेपालीहरुलाई झुलाएर राख्नु र अन्तमा उनीहरुलाई नसोधी नेपाल पैसा पठाउनु पाखण्डीपूर्ण व्यवहार हो ।”

तर, प्रेम गाहा मगरले तत्काललाई आफ्नो पद जोगाउन त्यसरी अनधिकृत रुपमा नेपाल पैसा पठाएपनि यूकेस्थित पञ्जिकृत सदस्यहरु र शेष घले समूहलाई आफू निर्दोष भएको दावी गर्न बिहिबार साँझ नै फेसबूक लाइभ गरे । ४० मिनेट लामो फेसबूक लाइभमा प्रेम गाहा मगरले सबै दोषहरु समितिका अन्य सदस्यहरुउपर लगाउँदै अझै पनि आफूलाई नै साथ दिन बिन्ति गरेका छन् ।

स्मरणीय छ, एनआरएनए यूकेको विधानको धारा १६.२.१ बमोजिम उपाध्यक्ष तथा संघसंस्था संयोजन विभागका प्रमुख सुनील बाबु खड्को संयोजनमा संघसंस्था प्रतिनिधि सभा (काउन्सिल बैठक) बस्नु पर्नेमा विधान र विधिलाई मिचेर प्रेम गाहा मगर अहिले साधारण सभा गर्ने भन्दै प्रचार प्रसारमा लागेका छन् ।

त्यस्तै, धारा १६.२.२ बमोजिम काउन्सिल बैठकमा संघसंस्थाका प्रतिनिधिहरु मात्रै बोलाइन पर्नेमा विधानबिपरीत आफूनिकटका सल्लाहकारहरुलाई मात्रै बोलाएर आफ्ना एजेण्डाहरु पास गराउने योजनामा छन् । तर विधि र विधान बिपरीत गर्ने भनिएको साधारण सभामा कसैलाई सहभागी नहुन भन्दै महासचिव खुशी लिम्बू उपाध्यक्षहरु र कार्यसमितिको सल्लाहमा उक्त दिन छुट्टै वैधानिक काउन्सिल बैठकको आयोजना गर्ने तरखरमा छन् । बैठकको समय र स्थान भने सार्वजनिक भइसकेको छैन ।

Prem Gaha Magar transfers £46,815.00 to ICC unauthorised.