March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

अस्ट्रियामा ऐतिहासिक युरोप स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

3.9K

भियना / नेपाल आदिवासी जनजाती महासंघ अस्ट्रियाको आयोजनामा नेपाली महिला तथा पुरुषहरुको ऐतिहासिक युरोप स्तरीय भलिबल प्रतियोगिता भब्य रुपमा आयोजना भयो। पुरुष तर्फको प्रतियोगितामा अस्ट्रियाको नेपाली खेलाडीहरुको गण्डकी भलिबल टिम साल्जवर्ग, नेपाल युथ भियना, द एभरेष्ट रेस्टुरेण्ट भियना, हिमालयन स्पोर्ट क्लब फिन्ल्याण्ड , नेपाली भलिबल एसोसिएसन डेनमार्क र रोयल चेक गणतन्त्र चेकबाट सहभागी थिए भने महिला तर्फको प्रतियोगितामा सगरमाथा टिम,अन्नपूर्ण टिम , माछापुछ्रे टिम र धौलागिरी टिम रहेका थिए।
महासंघ अध्यक्ष स्वेता बज्राचार्यको सभापतित्वमा आयोजित प्रतियोगिताको उद्घाटन सत्रमा नेपाली राजदुतावास भियन्नाबाट महामहिम राजदुत भरत कुमार रेग्मी प्रमुख अतिथि रहेका थिए। महासंघको अन्तर्राष्ट्रिय समिति वर्तमान सदस्य भुपिन्द्र गुरुङ्ग, निवर्तमान सदस्य मनिराज थेबे , एनआरएनए आईसीसी सदस्य मनोज विष्ट, एनआरएनए अस्ट्रिया अध्यक्ष ध्रुव पौडेल , नेसास अस्ट्रिया अध्यक्ष रुक्मिणी पौडेल , ईनास अस्ट्रिया अध्यक्ष कुमार अधिकारी र महासंघका संरक्षक तथा सल्लाहकारहरु विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए।


महासंघका महासचिव सचेता राई द्वारा संचालित उद्घाटन कार्यक्रम नेपाल तथा अस्ट्रियाको राष्ट्र गानबाट शुरुवात गरिएको थियो। साना साना नानिहरुको स्वागत नृत्य पश्चात राजदुत रेग्मीले शुभकामना मन्तब्यको रुपमा सम्बोधन गर्नु लगत्तै सभापति र राजदुतबाट खेल उद्घाटन भएको थियो।
पुरुष तर्फको खेलमा नेपाली भलिबल एसोसिएसन-डेनमार्क प्रथम, हिमालयन स्पोर्ट क्लब फिनल्याण्ड दोस्रो र रोयल चेक -चेक रिपब्लिकले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। महिला तर्फको खेलमा धौलागिरी भियना प्रथम, सगरमाथा भियना दोस्रो र अन्नपूर्ण भियनाले तेस्रो स्थान हासिल गरेका थिए। प्रतियोतिाका विजेता र उपविजेता महिला तथा पुरुष टिमहरु र उत्कृष्ट खेलाडीलाई कप, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।
महासंघका पूर्व अध्यक्ष नविन गुरुङ्गले नेपालीहरु बीच यो स्तरीय प्रतियोगिता पहिलो पल्ट आयोजना भएको र यसको भब्यताले आगामी सालहरुमा अझ धेरै देशका टिमहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न थप हौसला मिलेको बताए।
कार्यक्रमको अन्तमा महासंघ अध्यक्ष स्वेता बज्राचार्यले ऐतिहासिक भलिबल प्रतियोगिता आयोजना गर्न त्यति सहज नरहे पनि महासंघ भित्रको राम्रो सहकार्य र शुभचिन्तकहरुको सहयोग सदभावले गर्दा आयोजना गर्न सफल भएको बताउँदै सहयोगी सम्पूर्णलाई धन्यवाद दिंदै कार्यक्रमको समापन भएको थियो।

Advertisement