नैनकला राई , कुवेत । वैदेशिक रोजगारीमा गएका मध्ये सन् २०२० मा कुवेतमा ४८ जना नेपालीले ज्यान गुमाएका छन् , जसमा ३० पुरुष र १८ महिला छन् जुन गत बर्ष २०१९ मा ४२ जना नेपालीको मृत्यु भएको थियो। कुवेतस्थित नेपाली दूतावासका अनुसार यस मध्ये कोरोना महामारीका कारण मृत्यु हुने कामदारहरुको संख्या १० जना रहेको छ ।
कुवेतस्थित नेपाली दूतावासको तथ्यांक अनुसार कुवेतमा विभिन्न पेशामा कार्यरत नेपालीहरुको अनुमानित संख्या ६५ हजारको हाराहारीमा रहेका छन् भने अवैधानिक भएर बस्नेको संख्या करिव ७ हजार रहेको अनुमान गरिएको छ । त्यस्तै विभिन्न कारणले कुवेतमा जेलमा रहेका नेपालीको संख्या २ जना महिला र ५६ जना पुरुष गरेर ५८ जना रहेकोमा अधिक संख्या मदिराको कारोबारको कारणले गर्दा जेल परेको श्रोतले जनाएको छ ।
कोरोनाको महामारीले कुवेत पनि अछुतो रहन सकेन र केहि हदसम्म भएपनि त्यसको नियन्त्रणको लागि टेवा पुर्याउने हेतुमा पछिल्लो समयमा विभिन्न समस्याले गर्दा अबैधानिकरुपमा बस्दै आएका विभिन्न देशका नागरिकलाई लागेको जरिवाना मिनाहा गरेर ११ जुन २०२० देखि ५ जुलाई २०२० सम्म कुवेत सरकारको खर्चमा नेपाल फर्किने अवसर प्रदान गरेको थियो जसको लाभ लिंदै १६७९ पुरुष , १३४५ महिला र १८ जना बालबालिका गरि जम्मा ३०४२ जना नेपाल फिर्ता गएका थिए ।
महामारीको कारण रोजगारि गुमाएर , कार्य अवधि सकेर वा बिशेष कारणले नेपाल जान चाहने आफ्नै खर्चमा दूतावासमा नाम टिपाइ प्लेन चार्टर गरेर जानेहरु ६१८३ जना थिए । यो अवधि जुन २०२० देखि २ अक्टुवर सम्म चलेको थियो । त्यस पछि दोस्रोपटक पनि ५ अक्टुवरमा १४८ जना कुवेत सरकारको सहयोगमा नेपाल पठाइएको थियो भने ३० जना जति दूतावासको पहल साथै कुवेतमा रहेका विभिन्न मानवीय संघसंस्था र केहि एरलाइन्सको सहयोगमा उद्दार गरि नेपाल पठाइएको थियो । त्यसै गरि कोरोना महामारी चलेको समयमा गैर आवासीय नेपाली संघ कुवेतले विभिन्न संघ संस्था र व्यक्तिसंग सहकार्य गरि पटक पटक गरेर २०००० बीस हजार जना पिडितहरुलाई राहत बाडेको थियो ।
पछिल्लो समयमा कोरोनाको कारण नोकरी गुमेकाहरु र घर जानलाई समस्या भएकाहरुलाई पिसिआर टेस्ट र प्लेन भाडा सहित काठमाण्डौबाट घरसम्म जाने खर्च उपलब्ध गराएर हाल सम्म १८ जनाको उद्दार गरि सकेको छ साथै उद्दार गर्ने प्रक्रियामा अरु थप केहि पिडितहरु रहेको र प्रक्रिया पुरा गराई चाडै नेपाल पठाउने श्रोतले जानकारी गराएका छन् ।