लन्डन। रंगभेद एवं जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामका लागि रणनीति तय गर्न पुर्व मन्त्री समेत रहेका सत्तारुढ पार्टीका एक बेलायती सांसदले गठन गरेको समितिमा शिवजी श्रेष्ठ नियुक्त भएका छन् ।
बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद मारिया मिलरद्धारा गठित ‘द रिफरेन्स ग्रुप’ मा बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्ष समेत रहेका श्रेष्ठलाई एशियन मूलका समुदायको एकमात्र प्रतिनिधिको रुपमा नियुक्त गरिएको सांसद मिलरको सचिवालयले जनाएको छ ।
सांसद मिलरको नेतृत्वमा रहेको उच्चस्तरीय समितिमा स्थानीय बेजिङस्टोक काउन्सिलका मेयर डायनी टेलर, बेजिङस्टोक जिल्ला प्रहरीका प्रमुख चीफ इन्सपेक्टर क्यारेन म्याकमेनस, बेजिङस्टोक काउन्सिलका डेपुटी लिडर साइमन बाउन्ड लगायत सदस्य छन् । त्यस्तै, स्थानीय बेजिङस्टोक अस्पताल ट्रस्टका प्रमुख, एल्डवर्थ स्कुलका हेडटिचरका साथै जातीय विभेदविरुद्ध क्रियाशिल समुदायका अगुवा पनि समितिमा सदस्य छन् ।
कार्यक्षेत्रमा हुने जातीय विभेद सम्बन्धी अध्ययन र अनुगमन गरी यसको रोकथामका लागि रणनीति बनाउनु नै समितिको प्रमुख कर्तव्य रहने श्रेष्ठले बताए । कोभिड १९ महामारीबीच बेलायतमा अहिले शुरु भइसकेको कोभिड खोप वितरणमा अल्पसंख्यक समुदायको समान पहुँचका लागि समेत समितिले काम गर्ने उनले बताए ।
पूर्व मन्त्री एवं हाल बेलायती संसद हाउस अफ कमनको महिला तथा समानता छनौट समितिका सभापति रहेका सांसद मिलरद्वारा गठित जातीय विभेदविरुद्धको समितिमा भएको नियुक्तिलाई आफूले एक अवसरका रुपमा लिएको श्रेष्ठले बताएका छन् ।
‘बेलायतमा कुनै न कुनै रुपमा नियमित जसो चर्चा हुने जातीय विभेदको मुद्धालाई अझ नजिकबाट हेर्ने, अध्ययन गर्ने र रोकथामका लागि आवश्यक नीति तर्जुमा गर्ने कार्यमा योगदान गर्ने कोशिश् गर्नेछु’, श्रेष्ठले भने, ’हाम्रै नेपाली समुदायका सदस्यहरुमाथि हुने गरेका जातीय विभेदसम्बन्धी व्यवहार नियन्त्रणमा पनि विशेष पहल रहनेछ ।’
नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ बेलायतको नेपाली र स्थानीय दुवै समुदायमा सक्रिय रहँदै आएका छन् ।