January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

एनआरएनए अस्ट्रिया २१-२३ द्वारा कार्यभार हस्तान्तरण तथा बुझबुझारथ कार्यक्रम सम्पन्न

2.5K

भियना / गत २२ जुलाई २०२३ मा सम्पन्न निर्वाचनबाट ध्रुब पौडेलको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई भवानी तिवारी अध्यक्ष रहेको २१-२३ कार्यसमितिले भियनामा आयोजित एक औपचारिक कार्यक्रममा कार्यभार हस्तान्तरण तथा बुझबुझारथ सम्पन्न गर्यो। भुपिन्द्र गुरुङ्ग प्रमुख रहेको निर्वाचन समिति २०२३ को संयोजन तथा सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि युरोप क्षेत्रीय उप संयोजक सागर सुवेदी रहेका थिए। कार्यक्रममा आइसीसी सदस्य विकाश कार्की , नवनिर्वाचित आइसीसी सदस्य मनोज विष्ठ ,एनआरएनए अस्ट्रियाका संस्थापक अध्यक्ष शुभ राणा लगायत निवर्तमान तथा पूर्व पदाधिकारीहरु, नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु साथै अन्य नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
कार्यभार हस्तान्तरण कार्यक्रमको दौरान निवर्तमान अध्यक्ष भवानी तिवारीले नवनिर्वाचित अध्यक्ष ध्रुब पौडेललाई संस्थाका महत्वपूर्ण कागजात तथा भौतिक सम्पत्तिहरु पूर्ण विवरणका साथ हस्तान्तरण गरेका थिए। निवर्तमान महासचिव रोशन घिसिङ्गले संस्थाको माइन्युट बुक तथा संस्थाको छाप साथै आधिकारिक फेसबुकको पासवर्ड नवनिर्वाचित महासचिव डाईमण्ड राई लाई हस्तान्तरण गरेका थिए भने निवर्तमान कार्यकालका कोषाध्यक्ष तथा पुनः निर्वाचित कोषाध्यक्ष बिरेन्द्र बहादुर पुनले संस्थाको कोष संग सम्बन्धित विवरण नवनिर्वाचित अध्यक्षलाई निरीक्षणको लागि हस्तान्तरण गरेका थिए। त्यसै गरि निवर्तमान महिला संयोजक प्रतिभा कार्कीले नवनिर्वाचित महिला संयोजक निर्मला कार्की (निरु) लाई महिला फोरम अस्ट्रिया संग सम्बन्धित कागजात तथा आर्थिक विवरण र भौतिक सम्पत्तिहरु हस्तान्तरण गरेका थिए। निर्वाचन अधिकारी अन्जना आचार्य द्वारा संचालित पहिलो चरणको कार्यक्रममा निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अनिता भुजेल,अध्यक्ष भवानी तिवारी, आइसीसी सदस्य विकाश कार्की, प्रमुख अतिथि सागर सुवेदी र निर्वाचन प्रमुख भुपिन्द्र गुरुङ्गले सम्बोधन गरेका थिए।


दोश्रो चरणको कार्यक्रम नवनिर्वाचित कार्यसमिति द्वारा धन्यवाद ज्ञापनको रहेको थियो। नवनिर्वाचित अध्यक्ष ध्रुब पौडेलको सभापतित्वमा आयोजित दोश्रो चरणको कार्यक्रमलाई नवनिर्वाचित महासचिव डाईमण्ड राईले संचालन गरेका थिए। कार्यक्रमलाई प्रमुख अतिथि सागर सुवेदीले सम्बोधन गरेका थिए भने निवर्तमान अध्यक्ष भवानी तिवारीले २ वर्षे कार्यकालमा भोगेका अनुभवहरु आगामी मार्गदर्शनको लागि सम्बोधनको क्रममा सुनाएका थिए। सभापति ध्रुब पौडेलले नेपाली समाज अस्ट्रियालाई एकताबद्द राख्ने उद्देश्यमा लागिपर्ने प्रतिवद्दता जाहेर गर्दै सर्ब पक्षीय सहयोगको अपिल गरेका थिए। अध्यक्ष पौडेलले एनआरएनए केन्द्र देखी स्थानीय स्तर सम्मका विविध कठिनाईका वावजुद संस्थालाई बचाउँदै सफल र उदाहरणीय तवरले नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने निवर्तमान कार्यसमितका अध्यक्ष भवानी तिवारीको खुलेर प्रशंसा गर्दै निवर्तमान कार्यसमिति, निष्पक्ष र उदाहरणीय निर्वाचनको लागि निर्वाचन समिति लगायत आम पंजीकृत सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए।

Advertisement