काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष कुल आचार्यको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नागरिकता ऐनको निर्देशिका र कार्यविधि यथाशक्य छिटो निर्माण गरि गैरआवासीय नेपाली नागरिकताको प्रावधान लागु गर्न आग्रह गरेका छन् । बिहीबार संघको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेट गरेको हो ।
भेटमा प्रधानमन्त्री दाहालले निर्देशिका र कार्यविधि निर्माणको काम अन्तिम चरणमा रहेको र छिट्टै सम्पन्न हुने विश्वास दिलाएका थिए ।
यसअघि अध्यक्ष आचार्यकै नेतृत्वमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि एनआरएन प्रतिनिधि मण्डलले भेटेर संघको तर्फबाट आफ्ना सुझावहरु पेश गरेको थियो । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत अन्य वरिष्ठ अधिकारीहरु समेत छलफलमा सहभागी थिए ।
भेटघाटमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले एनआरएनहरुको भावना बुझेर जतिसक्दो सरलीकरण गरी गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले गैर आवासीय नेपाली नागरिकता छिटो कार्यान्वयनमा आउने विश्वास पनि दिलाए ।
संसदका दुवै सदनले दुइ, दुइ पटक पारित गरेको नागरिकता संशोधन ऐन तत्कालिन राष्ट्रपति विद्या देवी भण्डारीले प्रमाणीकरण नगरि दिएपछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीत गरी दिएका थिए।
त्यस विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरे पछि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने बाटो खुला भएको छ। ।