नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले सधैं झैं यस पटक पनि राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । कोभिड–१९ र सम्बन्धित व्यवधानहरुले गर्दा यस पटक भने भर्चुअल रुपमै जूम मार्फत मनाईएको हो ।
गत जनवरी २ का दिन भएको कार्यक्रमको अध्यक्षता समितिका कार्यवाहक सभापति महेश कुमार दाहालले गरे । त्यस्तै कार्यक्रमलाई महामन्त्री सूर्य तामाङले सञ्चालन र सहमहामन्त्री ईन्द्रहांग लिङदेनले संयोजन गरे । भर्चुअल कार्यक्रममा एनपीसीसी यूकेका संस्थापक सदस्यहरु, पूर्व कार्यसमितिका सभापतिहरु, सल्लाहकारहरु, केन्द्रीय सभाका सदस्यहरु, कार्यसमितिका सदस्यहरु र बेलायतवासी लोकतन्त्रवादीहरुको उपस्थिति थियो ।
कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले अवलम्वन गरेको राष्ट्रिय मेलमिलापको नीति र वर्तमानमा त्यसको सान्दर्भिकताको बारेमा चर्चा गरे । शुभकामना आदानप्रदान गर्ने क्रममा वक्ताहरुले नेपालमा हालै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै यसमा नेपाली कांग्रेस पार्टीले अब अपनाउनु पर्ने रणनीतिको बारेमा सुझावहरु पेश गरे ।
https://fb.watch/2P6cWXyxse/https://fb.watch/2P6cWXyxse/
शुभकामना मन्तव्यको क्रममा एनपीसीसीका सल्लाहकार चिरञ्जीवी ढकालले बीपी कोइराला आफैंमा एक सिद्दान्त थिए, आफैंमा एक मान्यता थिए भन्दै उनले अख्तियार गरेको राष्ट्रिय मेलमिलापको नीति राष्ट्रिय राजनीतिको सन्दर्भमा मात्रै नभएर हरेक सर्वसाधारणले नीजि जीवनमा समेत अनुशरण गरी आपसी भातृत्वको विकास गर्नु पर्ने धारणा राखे ।
सल्लाहकार नर कुमारी लिम्बूले कम्युनिस्टलाई खाने बाघले कांग्रेसीहरुलाई पनि खानु सक्ने भन्दै राष्ट्रिय मेलमिलापको नीतिको अवलम्वन आजको सन्दर्भमा पनि अपरिहार्य भएको र विशेषगरी आजका युवाहरुले एकार्कालाई सम्मान गर्ने बानीको विकास गर्नु पर्ने सुझाव दिइन्।
अर्का सल्लाहकार शिवजी श्रेष्ठले एनपीसीसी यूके कुनै एउटा च्यारिटेबल संस्था नभएर सिद्दान्त र विचार लिएको संस्था भएको हुनाले यो संस्था कुनै साना तिना कुराहरुमा अल्झेर श्रोत र शक्तिको खर्च गर्न नहुने सुझाव पेश गरे ।
सल्लाहकार शेर बहादुर सुनारले भने, “१४ बर्ष जेल बसेको हुँ भनेर घमण्ड गर्ने प्रधानमन्त्री केपी आफैंले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई बाँदरको हातमा परेको नरिवल जस्तो बनाए” ।
समितिका पूर्व सभापति विनोद राज मोक्तानले प्रतिनिधि सभा विघटनपछि नेपाली कांग्रेस पार्टीले अवलम्वन गर्नु पर्ने नीति तय गरिसकेको र सबै कांग्रेसीहरुले त्यसप्रति एकाकार हुनपर्ने विचार राखे ।
अर्का सल्लाहकार विश्व आदर्श पण्डितले ५१ साल को इतिहास दोहोरिएको यो दुखद क्षणको स्मरण गराउँदै कांग्रेसले अब सत्ता सोच्ने होइन जनता र संविधान सोच्ने बेला आएको बताए ।
पूर्व उपसभापति कुमारी गुरुङले बेलायतमा आफ्ना सुरुका दिनहरुको स्मरण गराउँदै एनपीसीसी यूके सबै लोकतन्त्रवादीहरुको एउटा साझा थलो भएको हुनाले संस्थाले भन्दा पनि आफैंले एनपीसीसी खोज्दै अघि आउन पर्ने सुझाव राखिन् ।
पूर्व महामन्त्री बिजन भट्टले तत्कालको फाइदा मात्रै हेरेर चुनावमा जान हतारिनुभन्दा नेपाली कांग्रेस आफ्नो नेतृत्वमा बनेको संविधान जोगाउनतर्फ बढी चिन्तित हुन पर्ने सुझाव पेश गरे ।
अर्का महामन्त्री आर. के. त्रिपाठीले भने, “बीपीको राष्ट्रिय मेलमिलापको नीति कुनै एउटा पार्टी वा गुट बलियो हुनका लागि नभएर राष्ट्रियताको सवालमा एक हुन पर्ने भन्ने थियो” ।
पूर्व कोषाध्यक्ष कृष्ण गुरुङले पनि बीपीको मेलमिलाको नीति राष्ट्रिय राजनीतिमा मात्रै नभएर निजी जीवनमै पनि फरक विचार राख्नेहरुसंग समेत मिलेर मिलेर बस्न सक्नु पर्छ भन्ने हो । त्यस्तै उनले एक पटकको नेपाली सधैं नेपाली हुनका लागि पनि नेपाली एनपीसीसी यूकेले जोड दिन पर्ने विचार राखे ।
त्यस्तै महामन्त्री केशव भण्डारीले २०३३ को राष्ट्रिय मेलमिलापको नीति आज २०७७ सालमा पनि उत्तिकै सान्दर्भिक भएको तर्कहरु पेश गरे ।
अर्का महामन्त्री प्रवेश केसीले भने, “राष्ट्रिय मेलमिलाप भनेको राजासंग मिल्नु हो । त्यसैले नेपालमा राजतन्त्र ब्युँताउन जरुरी छ” ।
तर आफ्नो मन्तव्यको क्रममा उपसभापति कोपिला सुब्बाले त्यस्तो विचारको प्रतिवाद गर्दै भनिन् – “राजतन्त्र पुनर्स्थापित हुन्छ भन्नु र चिहानबाट मुर्दा बौंरेर आउँछ भन्नु एउटै हो” ।
राजतन्त्रकै सवालमा प्रवक्ता खुशी लिम्बुले नेपाली कांग्रेस पार्टीको औपचारिक सिद्दान्तको बचाउ गर्दै राष्ट्रिय मेलमिलापको नीतिलाई अनावश्यक रुपमा राजतन्त्र फर्काउन वा चुनावी दाउको रुपमा प्रयोग गर्न नहुने धारणा पेश गरे ।
सहमहामन्त्री उपेन पौडेलले प्रधानमन्त्रीले सनकमा जतिखेर पायो उत्तिखेर संसद बिघटन हुने परम्परालाई तोड्न नयाँ संविधान ल्याएको तर त्यसको पनि केपी ओलीले पालन नगरेको भन्दै संविधान र संसदको रक्षार्थ सबै प्रजातन्त्रवादीहरु एक हुन पर्नेमा जोड दिए ।
शुभकामना मन्तव्य दिनेहरुमा नेपाल प्रेस युनियन यूकेका अध्यक्ष बिपिन निरौला र लोकतन्त्रप्रेमीहरु रञ्जन मल्ल, हरिभक्त न्यौपाने र शशांक शर्मा थिए । सो क्रममा शशांक शर्माले जनसम्पर्क समितीका क्रियाकलापहरु बेलायत भर फैलाउनु पर्ने बताए।
कार्यक्रम समापन गर्ने क्रममा कार्यवाहक सभापति महेश कुमार दाहालले ४५औं राष्ट्रिय मेलमिलाप दिवस सफल पार्न सहयोग गर्ने र सहभागी सबैलाई नेपाली जनसम्पर्क समिति बेलायतको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि सोही प्रकृतिको सहयोगको अपेक्षा राखे ।