लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले संस्थाको विधि विधानविपरित काम गर्दै आएकाले संघको कार्यसमिति र सचिवालयमा विश्वास नरहेको भन्दै बहुसंख्यक पदाधिकारीहरुले आवश्यक कारवाहीका लागि संघको अन्तर्राष्ट्रिय समन्वय समितिमा कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
एनआरएनए युके उपाध्यक्ष सकुन्तला गुरुङको अध्यक्षतामा बसेको सचिवालयको आकस्मिक बैठकले अध्यक्ष गाहा मगरलाई कारवाहीका लागि सिफारिस गरेको हो । यस अगाडी कार्य समितिका बहुमत पदाधिकारी तथा सदस्यहरुले अध्यक्षबाट संघको इज्जत प्रतिष्ठा तथा विश्वासनियतामा आँच आउने गरेर संघको विधान विपरित भएका ६ ओटा गम्भीर गल्तीहरु औंल्याउँदै ७२ घण्टा भित्र स्पष्टीकरण दिन पत्राचार गरिएको थियो । अध्यक्ष गाह मगरले स्पष्टीकरण दिएर सुध्रिनुको साटो झन झन गलत क्रियाकलपा गर्दै गएकाले तोकिएको ७२ घण्टाको अवधी सकिएपछि सचिवालयको आकस्मिक बैठक बसी उक्त निर्णय गरिएको संघका अध्यक्ष विष्णु चालिसाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
२५ अगष्ट दिउसो १२ बजे अध्यक्ष गाहा मगरलाई पठाएको पत्रमा अध्यक्षबाट भएका अवान्छित क्रियाकलापहरुले संस्थाको मर्यादा, विश्वसनीयतामा आँच आएको तथा संस्थामा आर्थिक, भौतिक तथा सांगठनिक रुपमा गम्भीर क्षति हुन गएको पनि विज्ञप्तिमा जनाइएको छ । १३ पदाधिकारी मध्ये १० पदाधिकारीले अध्यक्षलाई कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेका हुन ।