April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दिपा मेवाहाङको कवितासंग्रह ‘यादको सन्दुक’ कोरियामा लोकार्पण

3.6K

काठमाडौं । दिपा मेवाहाङ राईको कवितासंग्रह ‘यादको सन्दुक’ कोरियामा लोकार्पण भएको छ । यसअघि नेपालमा विमोचन भएको संग्रहलाई इतर अभियान कोरियाको आयोजनामा कोरियामा पनि लोकार्पण गरिएको हो ।

आइतबार सउलको दोङ्देमुनमा भएको उक्त लोकार्पण तथा संवार्ता कार्यक्रममा वक्ताहरु पराजित पोमु, सेसेफुङ सेर्मा, जीवन खत्री रहेका थिए ।

कवितासंग्रह माथि बोल्दै प्रमुख वक्ता पराजित पोमुले ‘यादको सन्दुक’ कवितासंग्रहभित्र फरकफरक स्वाद, चिन्तन र दर्शनका ४८ कविताहरु रहेको बताए । यस्तै, पहिचानका विषयलाई पनि आंशिक रुपमा उठाइएको उनको टिप्पणी थियो ।

Advertisement

अर्का वक्ता सेसेफुङ सेर्माले मुन्धुमी पाटोबाट हेर्दा ‘यादको सन्दुक’ ले प्रेम गर्न सिकाउने बताए । प्रेमको आदर्श, मूल्य र भूमिकालाई कसरी निभाउने भन्ने कुरा यस संग्रहका कविताहरुले सिकाउने उनको भााइ थियो । समग्रमा यस कविता हाम्रै हो जस्तो लाग्ने उनको भनाइ थियो ।

यस्तै अर्का वक्ता जीवन खत्रीले कवितासंग्रहभित्र असाध्यै सुन्दर कविताहरु भएको बताए । कुनैकुनै कविताहरुले फरकफरक स्वाद बोकेको बताए । अधिकांश कविताहरु असाध्यै सुन्दर भएको बताए । वैचारिक हिसाबले भने सबै कविताहरुमा विचार व्यक्तमा कविले जोड नदिएको बताए । ‘सबैमा विचार मात्रै खोज्नुपर्छ भन्ने पनि छैन ।’ उनले भने ।

‘यादको सन्दुक’ कवि दिपा मेवाहाङको पहिलो एकल कवितासंग्रह हो । यसअघि सामुहिक संग्रह भने प्रकाशित थियो । नेपालमा पाठकहरुमाझ पुगिसेको हुँदा सकारात्कम प्रतिक्रिया पाइरहेको उनले बताइन् । ‘सुरुमा कस्तो होला भन्ने डर थियो, सकारात्मक प्रतिक्रियाका कारण त्यो डर हटेको छ । राम्रै भएको छ, र अझैं लेख्नुपर्छ कि भन्ने हौसला मिलेको छ ।’, उनले नेपाल मामिलालाई बताइन् ।

कवि दिपा मेवाहाङ राई ।

इतर अभियानका एक सदस्य मातृका नेम्बाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति लेखक महासंघ दक्षिण कोरियाका प्रतिनिधि खेम पुन, पुर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राई, किरात राई यायोख्खा दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष पुरण याम्फु, आदिवासी जनजाति महासंघका प्रतिनिधि विवश राई, लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

खोम गुरुङ र उत्तम खजुमले सहजीकरण गरेको उक्त कार्यक्रममा कवितासंग्रह ‘यादका सन्दुक’बाट विष्णु सन्यास, मातृका नेम्बाङले एकएक वटा कविता वाचन गरेका थिए ।