April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायती महारानीको ‘प्लाटिनम जुब्ली’को अवसरमा एक नेपाली सम्मानित

2.1K

लन्डन । बेलायती महारानी एलिजावेथ द्वितीयको ‘प्लाटिनम जुब्ली’ को अवसरमा एक नेपाली व्यवसायीले प्रतिष्ठित सम्मान पाएका छन् । बेलायतमा रहँदै आएका फत्त थापा ‘प्लाटिनम च्याम्पियन’ को रुपमा सम्मानित भएका हुन् ।

स्वयंसेवामार्फत् परोपकारी कार्यमा उल्लेख्य योगदान दिएका ‘होम इन्स्टेड’ ग्रीनवीचका निर्देशक थापाले महारानीको राज्यरोहणको ७० वर्ष पूरा भएको खुसियालीमा आयोजित चार दिने प्लाटिनम जुब्ली समारोहअन्तर्गत आइतबार सम्पन्न ‘बिग जुब्ली लन्च’ कै अवसरमा प्लाटिनम च्याम्पियनको अवार्ड ग्रहण गरेका हुन् ।

‘द रोयल भोलुन्टरी सर्भिस टीम’ ले प्लाटिनम जुब्लीको अवसरमा परोपकारी क्षेत्रमा उल्लेख्य योगदान गर्ने बेलायतभरका जम्मा ४ सय ९० जनालाई ‘प्लाटिनम च्याम्पियन’ का रुपमा सम्मान गरेको हो । उनीहरूमध्ये छनोटमा पर्न सफल ७० जनालाई ‘बिग जुब्ली लन्च’ आमन्त्रण गरिँदा थापालाई पनि त्यहाँ निम्त्याइएको थियो ।

Advertisement

यसअघि ‘प्लाटिनम च्याम्पियन’ का लागि देशभरबाट तीन हजार रुपैयाँभन्दा बढीको आवेदन परेको ‘द रोयल भोलुन्टरी सर्भिस टीम’ ले जनाएको छ ।

अवार्ड ग्रहण गरेपछि थापाले खुसी व्यक्त गर्दै आफ्नो लागि यो निकै महत्त्वपूर्ण उपलब्धि रहेको बताए । ‘महारानीको राज्यारोहणको ७० वर्ष पुग्नु जीवनमा विरलै देखिने घटना हो किनभने यो क्षण फेरि आउने सम्भावना छैन । अवार्डले समाज र मानवप्रति थप सेवा गर्ने जिम्मेवारी बोध पनि गराएको छ ।’, थापाले भने ।

थापा निर्देशक रहेको ‘होम इन्स्टेड ग्रीनवीच एन्ड बेक्सली’ ले स्थानीय एल्डरली (वृद्धवृद्धा) र डिमेन्सिया रोगीलाई केयर उपलब्ध गराउँदै आएको छ । व्यवसायका साथै ज्येष्ठ नागरिकहरूको सेवामा समेत निरन्तर स्वयंसेवा गर्दै आएको कम्पनीले यसअघि थुप्रै च्यारिटी अवार्ड प्राप्त गरिसकेको छ ।