काठमाडौं । बेलायतमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय लेखक जानु काम्बाङ लिम्बुको नयाँ कृति ‘लान्डर्स फिल्डमा तमोरका सुसेली’ संस्मरण नियात्रा सङ्ग्रह प्रकाशित भएको छ । चैत्र २१ गते काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा एक समारोहबीच जानुुको उक्त नयाँ कृतिलाई सार्वजनिक गर्दै अन्तक्रिर्या समेत गरिएको छ ।
विभिन्न स्थान भ्रमणका बारेमा डेड दर्जन संस्मरण सँगालिएको यस नियात्रासंस्मरणलाई सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार गणेश रसिक, लोकप्रिय कवि श्रवण मुकारुङ, नियात्राकार गीता रेग्मी तथा लेखक स्वयं अन्तक्रिर्यामा सहभागी थिए । संस्मरण लेखनमा छुट्टै पहिचान बनाएका साहित्यकार गणेश रसिकले जीवनमा घटित सबै संस्मरण शब्दमा उन्न गाह्रो हुने तर लेखकले इमान्दार प्रयत्न भने गरिरहने अनुभव बताए । साहित्यकार रसिकले जानुकृत ‘लान्डर्स फिल्डमा तमोरका सुसेली’ कृतिभित्रका कतिपय संस्मरण पढ्दापढ्दै पढ्न नसकेर आफू बीचमै रोकिनु परेको समेत बताए । लिम्बुका संस्मरणमा भेटिएका मानवीय संवेदनाका अति सूक्ष्मत्तम् र गहिरो–गहिरा कुराले पढ्दापढ्दै आफूलाई भावुक बनाएर पटक-पटक पुस्तक बन्द गर्दै फेरि पढ्दै गर्नु परेको रसिकको स्पष्टीकरण थियो ।
अन्तक्र्रियामा सहभागी कवि श्रवण मुकारुङले भने यस नियात्रासंस्मरण पढ्दा एक विराट क्यानभासको सिनेमा हेरेजस्तो अनुभूति भएको बताए । मुकारुङले स्थानीय मिथहरुलाई सापेक्ष रुपमा वर्णन गरिएको, भाषा अत्यन्त काव्यिक रहेको, जीवनका मसिनामसिना घटनालाई सुक्तिमय शैलीमा दार्शनिक उचाइका साथ टिपिएको भन्दै यो संस्मरणसङ्ग्रह पाठकबाट अत्यन्त रुचाइने मात्र नभएर नेपालको जुनै पनि पुरस्कार र सम्मानको हकदार समेत रहने दाबी गरे ।
त्यसैगरी अर्का वक्ता नियात्राकार गीत रेग्मीले ठेट पूर्वेली भाषामा लेखिएको एक उत्कृष्ट कृतिका रुपमा चर्चा गरे । जानुका हङकङ, युरोपका बारेका संस्मरणको चर्चा गर्दै रेग्मीले प्रवाशिनु परेका नेपालीको जीवनलाई क्यारमबोर्डका गोटीसँग दाँजे । समूहमा रहेका क्यारमबोर्डका गोटी हान्दा चार वटै दुलोमा कति गोटी छिरेजस्तो प्रवाशिएका नेपालीको जीवन पनि संयोगले कतिको सुखी रहे पनि प्रायः कष्टकर नै रहेको उनको विचार थियो । यस संस्मरणसङ्ग्रहमा प्रवासका दुःख र सुख दुवै पाटालाई जानुले इमानदारपूर्वक लेख्नु भएको धारणा पोख्ने क्रममा उनले उक्त कुरा बताएका हुन्।
कृतिकार जानु काम्बाङ लिम्बुले संसारका कुनै पनि महिला लेखकलाई पुरुष लेखकको दाँजोमा लेख्नलाई सहज नभएको बताइन्। लिम्बुले बेलायतमा आफू १२ घण्टा काम गर्नु पर्दा कहिले सौचालयमा, कहिले ट्रेनयात्रामा, कहिले किचनमा नेप्किन पेपरमा लेखेर फूर्सदमा साफी गरेका संस्मरणहरु रहेको स्पष्ट पारिन् ।
कवि रिमा केसीले सहजीकरण गरेको अन्तक्र्रियामा प्राज्ञ शशी लुमुम्बु, आख्यानकार प्रगति राई, कवि प्रद्युम्न जोशी, राजबाबु श्रेष्ठ, रावत, दीपा राई पुन, सङ्गीतकर्मी राम दियाली, ताराप्रकाश लिम्बु, मनु नेम्बाङ, दीपा सुहाङ, अमृता लिम्बु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
इन्डिगो बुक्सले प्रकाशन गरेको यो सङ्ग्रह लेखक जानुको चौँथो कृति हो । जानुका यसअघि गीत, कविता र कथाका सङ्ग्रह प्रकाशित छन् ।