March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

गीतकारको महत्व नबुझेका नेपाली गायकहरू र मिडिया

8.8K

सिन्धु पौडेल

कुनै गीत बज्दै गर्दा मान्छेहरू सँगसँगै गाइरहेका हुन्छन्,छमछम नाचिरहेका हुन्छन् । गीत सफल होस् या असफल, संरचना र निर्माणका आधारभूत प्रक्रियाहरू एकै हुन्छन् । देखिने र सुनिने रुपमा गाउनेहरू अग्रभागमा प्रकट भए पनि गौण तथा अदृश्य रुपमा अहम् भूमिका खेल्नेहरू थुप्रै हुन्छन् कुनै पनि गीतसंगीतमा । समयको माग, जनचाहना र भाग्यवश कुनै गीत हिट हुन्छन् तर संयोजन, सिर्जना र निर्माणको हिसाबले अब्बल नै भए पनि कुनै गीतले जनस्तरमा आफ्नो फैलावटलाई व्यापक बनाउन सक्दैनन् । फलतः श्रष्टाहरू निरासाको गर्तमा भासिन पनि पुग्दछन् । कुनै गीतसंगीत निर्माणको प्रथम चरण शब्द हो र यसको पहिलो तथा प्रमुख श्रष्टा पनि शब्दाकार अर्थात गीतकार हो। । तर, यिनै प्रथम र महत्वपूर्ण मानिएका सर्जकहरू किन भित्तामा पुर्याइन्छन् ? यहाँ मैले उठाउन खोजेको विषय पनि यहि नै हो ।

नेपाली साहित्यको अभिन्न अङ्ग गीतसंगीत । यहि क्षेत्र यतिबेला घरि–घरि विवादमा आईरहेको देखिन्छ, सुनिन्छ । किन हुन्छ यस्तो ? लापरबाही कसको हो ? राज्यको कि व्यक्ति स्वयंको ? विषय गहन छ । पछिल्लो समय गीत सुन्ने भन्दा हेर्ने प्रचलन बढेको छ । कारण थुप्रै हुन सक्छन् । पहिलो त प्रविधिको चामत्कारिक विकास नै हुनुपर्छ । रेडियो, एफएम सुन्ने फुर्सद कसैलाई छैन । सबैको हात–हातमा मोबाइल छ, इन्टरनेटको पहुँच छ । युट्युबले सबै सुविधा उपलब्ध गराएकै छ । अनि सुन्नुमा भन्दा हेर्नुमा मज्जा पनि छ । दोश्रो कारण विश्वव्यापी रुपमा फैलीरहेको कोरोना कहर पनि हुनसक्छ । सिनेमाहरू बन्न छोडे । गीतमै कथानक भरेर त्यसैलाई दृश्यांकन गरेर चित्त बुझाउनुपर्ने बाध्यात्मक परिस्थिति छ । यतिबेला नेपाली गीतको म्युजिक भिडियो बनाउनेहरूको होडबाजी नै चलिरहेको छ । गुणस्तर भन्दा सख्यामा चलिरहेको प्रतिस्पर्धाले कुनै खास सार्थकता नदिए पनि कतिपयको रोजीरोटी बनिरहेकोमा त्यस्तो गुनासो मान्नु पनि हुँदैन । मैले चर्चा गर्न खोजेको चुरो कुरा यति धेरै गीतहरू रेकर्ड र निर्माण भईरहँदा यसको मूल श्रष्टा गीतकार चाहिँ किन ओझेलमा भन्ने हो । एउटा गीतकारले गीत नलेखी संगीतकारले धून भर्न सम्भव छ र ? गायक–गायिकाहरूले गाउन सक्लान् ? मोडेलहरूले अभिनय गर्न वा नाच्न सजिलो होला ? नेपाली गीतकारहरूको अवमुल्यन किन यति हदसम्म ? मनमा एउटा सवाल आन्दोलित भैरहन्छ । एउटा गीत सर्वाधिक सफल र लोकप्रिय हुँदै गर्दा समेत उक्त गीतको जन्मदाता गुमनाम हुनु दुर्भाग्य मात्र होइन घोर अन्याय नै हो । गायक–गायिकाहरू पनि कन्सर्ट तथा अन्तर्वार्तामा बडो फुर्तिसाथ यो मेरो गीत भन्छन् तर गीतकारको नामै उच्चारण गर्दैनन् । गीतले सफलता हात पार्दै गर्दा उत्तेजित भएर अवार्ड उचाल्न खप्पिस हाम्रा गायक–गायिका प्रस्तुत गीत कसको शब्द हो आफ्नो मानसपटलमा राख्नै चाहँदैनन् । नेपाली मीडियाहरू पनि उस्तै छन् । गीतकार कुन चराको नाम हो, हेक्कै राख्दैनन् । उनीहरूलाई गायक–गायिकाको मात्र गुनगान गाउन पाए भयो ! यो ठुलो बिडम्बना छ नेपाली म्युजिक ईण्डस्ट्रिमा ।

Advertisement

नेपाली गीतसंगीतका विषयमा यति बोल्न मलाई केहि ताजा प्रसङ्गहरूले अभिप्रेरित गरेका छन् । त्यसो त यहि कुरा वरिष्ठ गीतकारहरूको मनमा पनि खट्किएकै रहेछ । केहि समय अगाडि मात्र साहित्यकार गणेश खड्काको फेसबुक वालमा एउटा आक्रामक स्टाटस आयो । उनको भनाइमा गुनासो मात्र थिएन, पीडाबोध पनि थियो । उनको अभियक्ति प्रतीकात्मक थियो तर समस्त गीतकारहरूको साझा व्यथा भएर आएकोले सबैको प्रश्न पनि बन्न पुग्यो । खासगरी प्रवासमा बसेर साहित्य साधना गर्ने श्रष्टाहरूको बाध्यता र समस्या मुखरित भएर आएकोले मेरो पनि ध्यान खिच्यो अरु–अरुको जस्तै । राम्रा गीत लेख्छन् गणेश खड्का । रेकर्डिङ्ग र भिडियो निर्माण पनि भएकै देखिन्छ । केहि समय अगाडि उनको एउटा गीतको म्युजिक भिडियो निर्माणको जिम्मा लिएकी एक नाम चलेकी गायिकाले लागत भन्दा झण्डै तिन डबल बढी पैसा असुलेर आर्थिक रुपमा डसिछन् उनलाई । शुक्ष्म अध्ययनबाट थाहा लाग्यो कि ति गायिकाले उक्त परियोजनाको हिसाबकिताब नै देखाइनछिन् । सम्बन्धित गीतको गायिका समेत रहेकी ति गायिकाको एउटा अन्तर्वार्ता मैले पनि हेर्न भ्याएकी थिएँ – मैले एउटा कुरा नोटिस पनि गरेकि थिएँ । गीत, गायक, गायिका, संगीतकार, एरेन्जर, प्राविधिक, भिडियो परिकल्पनाकार आदि सबैको बारेमा दोहोर्याई–तेहेर्याई बखान गर्न भ्याएकी उनले त्यहाँ पनि गीतकारको नामो–निशान कतै लिन चाहिनन् अथवा सकिनन् या त भनौ त्यो विवेक उनमा रहेनछ । मलाई लाग्यो– यी गायिका पनि गीतकारको महत्व र महिमा नबुझ्नेहरूकै ड्याङ्गमा पर्दिरहिछन् । कवि गणेश खड्काको जस्तो चित्त सबैको दुखेकोछ । तर, अरु मन बाँधेर बस्न बाध्य छन् , उनले मन खोल्ने साहस गरे । आउनुपर्ने कुरा आयो भनेर शतप्रतिशतले समर्थन गर्नु नै उनले साझा सवाल उठाएछन् भन्ने कुरालाई प्रमाणित गर्दछ । उनको यो बौद्दिक हिम्मतलाई मेरो पनि सलाम् !

त्यस्तै, केहिसमय अघिमात्रै प्रवासमै रहेकी एक गीतकारले म्युजिक भिडियो दर्शकमाझ ल्याइन् । उक्त गीतलाई नेपालकै एक चर्चित गायकले गाएका छन् । भिडियोमा दयाहाङ राई लगायतको चर्चित र महँगो कलाकारलाई फिचरिङ गरिएको छ । गीतकारका अनुसार भिडियो निर्माण गर्दासम्म करिब ५ लाख खर्च भयो । तर, सबैलाई चित्तबुझ्दो पारिश्रमिक दिइएको उक्त भिडियो गायकले आफ्नो युट्युब च्यानलमा लगाएर लाखौं भ्युज र दर्शकको वाहवाही बटुल्यो । गीतकारको युट्युब च्यानलमा लगाइसकेको उक्त भिडियोले राम्रो भ्युज पाउदै थियो तर उक्त गायकको टोलीले उनको जिमेल आइडी र पास्वर्ड मागेर अनुमति लिएरै २/३ दिनजति उक्त भिडियो प्राइभेट गरिदिए । तर किन भन्ने गीतकारले पत्तो पाइनन् । अहिले उनको च्यानलको तुलनामा गायकको च्यानलमा लगाइएको भिडियोमा दर्शक बढि छन् । कतिपय गीतकारले गीत लेख्ने देखि भिडियो निर्माण गर्दासम्म गरेको बौद्धिक तथा आर्थिक लगानी पछि पनि त्यो आफ्नो प्रोपर्टी बन्न सकेको छैन भन्ने प्रमाण हो यो घटना ।

गीत लेखन मेरो पनि रुचिको विषय हो । प्रवासमा बसेर साहित्य साधना र सिर्जना गर्नु सजिलो छैन । समयका थुप्रै जञ्जिरहरू तोडेर लेखिएका रचनाहरू प्रकाशन र रेकर्डिङ्ग नगरे न मन मान्छ न ति सिर्जनाले सार्थकता पाउछन् । तर पसिना पोखेर आर्जेको थोरै धनराशीबाट केहि सिर्जना कर्ममा खर्च गर्न चाहनेलाई घरादेशमा सहकार्य÷संयोजन गर्नेले अस्वाभाविक रुपमा डस्लान् भन्ने डर हुनेरहेछ । विदेशमा त पैसाको बोट नै हुन्छ भन्ठान्छन् घरदेशीहरू । तर, यथार्थ त्यस्तो छैन । प्रवासीहरूको कथा–व्यथा कस्तो छ ? त्यो घाम जस्तै छर्लङ्ग छ । कुरा बुझ्नुपर्नेले नबुझेका हुन्, या बुझीबुझी पनि बुझ पचाएका हुन् ! कुरा यत्ति हो घरभित्र हुनेलाई भन्दा घरबाहिर हुनेलाई घरको माया बढी लाग्दोरहेछ । जहाँ बसेर पनि आफ्नो भाषा, साहित्य, कला,संस्कृति र सङ्गीतप्रतिको माया र चासोले छोईरहँदो रहेछ । त्यो आफैमा जायज र स्वाभाविक कुरा हो ।

नेपाली गीत र गीतकारको विद्यमान अवस्थाका बारेमा वरिष्ठ गीतकार राजेन्द्र थापा भन्नुहुन्छ – “ विदेशमा बगेको पसिनालाई नाफामूलक भाउमा बिक्रि–बितरण गरेर सुन दिने गीतकारलाई कवाडिको मोल दिन्छन् यहाँ ।” यथार्थ पनि यहि हो । एउटा स्रष्टाको गीत गाईसकेपछि भिडियो बनाउन गायक–गायिका (कोही अपवाद बाहेक) मोलमोलाइ गरेर नाफामूलक काम गर्छन् वाहवाही बटुल्छन्, जब उनिहरूको काम सकिन्छ अनि गीतको मूल स्रष्टा चिन्दैनन् । जबकि गीतकारले नै उनिहरूलाई उनिहरूले गाएको मूल्य दिएर किनिसकेको हुन्छन् । गीतकारलाई रेकर्डिङ्ग लगायत भिडियो निर्माणमा समेत आर्थिक लगानी गर्न लगाएर मुर्गा बनाउने बेथिति नेपालमा मात्रै हो कि अन्ततिर पनि छ ? अध्ययनको विषय बनेको छ यतिबेला । मलाई लाग्छ– अन्य देशमा गीतकार (लेखक) लाई असाध्यै महत्व दिन्छन् । उचित पारिश्रमिक दिन्छन् । शिर्षस्थानमा राखेर “राइटर रेस्पेक्ट” गर्छन् । त्यहीं भारतमा हेरौं न, वरिष्ठ होस् या कनिष्ठ लेखकलाई मूल श्रष्टाको रुपमा आदर गर्छन् । हेय दृष्टि सहनुपर्ने र हेपाहा प्रवृत्ति खेप्नुपर्ने त नेपालमै मात्र हो कि ?

अब गायक–गायिका र संगीतकारहरूले गीत माग्नुपर्ने वातावरण बन्न जरुरी छ । गीतकार आफैले गीतको सस्तो प्रचार गर्दै मेरो गीत लैजाऊ, गाइदेऊ भनेर जानु नै गीतकारको पनि गल्ती हुन सक्छ । राम्रो पारिश्रमिक, उचित मूल्यांकन र गीतकारको नामको सम्बोधन हुनुपर्ने सिस्टम राख्ने र त्यहि सर्तमा गीत दिने हो भने गायक–गायिकाले अवश्य पनि सबक सिक्छन् ।

प्रवासमा रहेका सर्जकहरू पक्कै मर्कामा छन् । एउटा किताब निकाल्नुप¥यो भने विदेशमा छ पैसा त झरिहाल्छ नि ! भनेर बेप्रवाह पैसाको माग गर्छन् । अरे बाबा, बिदेशमा हुनेले त आफ्नो सिर्जना छपाउला, बजारमा ल्याउला अनि के नेपालमा भएर कमाउनै नसक्ने सर्जकहरूले चाहिं आफ्ना सिर्जना बजारमा ल्याउन के गर्ने ? यस्तो कुरुप संस्कृतिको मारमा आफ्नो रहर पुरा गर्न किड्नी बेच्ने ? विषय भयावह छ !

फेरी पनि प्रसङ्ग साहित्यकार गणेश खड्काको स्टाटसकैः जब त्यो मन छुने अभिव्यक्ती देखेँ त्यसपछि म धुरन्धर भएर नेपाली गायक–गायिकाहरूको अन्तर्वार्ता हेर्न थालेँ । थोरै अपवाद बाहेक प्रायः गायक–गायिकाहरूले त गीतकारको नाम नै लिदैनन् । मेरो गीत अनि फलानाको संगीत । एरेन्जर को हो ? गीतकार को हो ? नचिनेरै हो कि नाम बिर्सिएर हो ? म रनभुल्लमा पर्छु । यस्तो संस्कारले उनिहरूभन्दा पछि आउने नयाँ पुस्ताले कस्तो नैतिक शिक्षा र मर्यादा सिक्लान् मनभित्र प्रश्नको आँधी चल्छ ।

यहि विषयमा आधारित एउटा अर्को प्रसङ्ग ः सगरमाथा साहित्य प्रतिष्ठानको साप्ताहिक कार्यक्रमको ८६औं भागको स्रष्टा र श्रृजना कार्यक्रममा वरिष्ठ कवि÷गीतकार दिनेश अधिकारीलाई सुन्दै गर्दा वहाँले भन्नुभएको थियो, “लेखन भनेको जिवनको निकास हो । गीतकारले गीत लेखिसकेपछि गायक र संगीतकारले गीत डिमाण्ड गर्दैनन् गीतकार आफैं खोजेर जान्छ ।” के यो गीतकारहरूको कमजोरी हो त ? यदि कमजोरी नै हो भने गहिरो आत्मसमीक्षा हुनु जरुरि छ । नत्र, रहर सबैलाई हुन्छ आफ्नो सिर्जनाको यथोचित मापन, मूल्यांकन र सम्मान होस् भन्ने । एउटा पूर्ण गीत बन्न धेरै चरणहरू पार गर्नुपर्छ । गीत लेखन, संगीत, संयोजन, वाद्यवादन, गायन, निर्माण, प्रबिधि सबै । तर, यहाँ उठान गर्न खोजेको कुराको चुरो चाहिँ मूल श्रष्टाको पहिचान र उचित स्थान हो । कमजोरी कहाँबाट भईरहेको छ ? खोज्न अत्यावश्यक छ । भैगो यति टाढा पनि नजाऔं, गीत र गीतकारलाई गायक–गायिका र मिडियाले चिनिदिए मात्रै पनि ठूलो न्याय हुनेथियो ।


लेखक हाल ईजरायलमा छन्