नेपाल मामिलाबाट प्रसारण हुने कार्यक्रम ‘खुशीको साथ एक संवाद’ अन्तर्गतको दोस्रो श्रृङखलाका अतिथि नेपाल पत्रकार महासंघ यूकेका महासचिव सञ्जय भक्त कँडेलसँग विशेषगरी नेपाल पत्रकार महासंघ भित्रको पछिल्लो विवाद र महासंघको आगामी चुनावलाई मध्यनजर गर्दै नेपाल मामिलाले गरेको कुराकानीको संम्पादित अंशः
तपाईको हस्ताक्षरमा जारी गरेको विज्ञप्ती र नेपाल पत्रकार महासंघ यूकेको निर्वाचन बारे प्रष्ट पारिदिनुहोस्?
हामी सँग खासै ठूलो विवाद छैन । निर्वाचनका बेला यस्ता कुराहरु सुनिन्छन् । विभिन्न ठाउँबाट प्रतिनिधित्व गर्ने मान्छेहरु महासंघमा बसेका छौँ र एकको विचार अर्कोसँग नमिल्नु सामान्य कुरा हो । हाम्रो यो संघर्ष पनि महासंघलाई नै स्वस्थ रुपमा स्थापित गर्नका लागि हो । सबैलाई समेट्ने एउटा ठूलो फराकिलो महासंघ बनाउने तयारीको यो पहिलो संघर्ष हो ।
तपाईँले जारी गर्नुभएको प्रेस विज्ञप्तीलाई आधार मानेर अध्यक्ष नरेश खपाङ्गीले विज्ञप्तीको बारेमा मलाई थाहा छैन । विज्ञप्ती व्यक्तिगत हो या संस्थागत कुन हैसियतमा जारी गरिएको हो मलाई थाहा छैन भन्नुभएको छ खास असहमति के मा हो ?
अध्यक्ष ज्यूले आफैले धेरै कुरा थाहा पाउनुहुन्न र उहाँ अरुलाई धेरै कुरा थाहा दिन पनि चाहानु हुदैँन । सानो संस्थामा धेरै सानो मन बनाउनु पनि आवश्यक छैन । मेरो आपत्ति निर्वाचन समिति बन्नेमा होइन हामी आफैले निर्वाचन समिति निर्माण गरेका हौँ, तर उक्त निर्वाचन समिति महासंघको प्रचलित विधान छानविन शुद्धिकरण कार्यन्वयन समितिको रिपोर्ट, साधारण सभाको एजेण्डा र पूर्ण कार्यसमितिको बैठकले दिएको म्यान्डेट भन्दा बाहिर जान सक्दैन ।
उहाँहरुले प्रयोग गर्नुभएको मोडालिटीमा विश्वासनीयता छैन, त्यसका बारेमा कार्यसमितिको बैठकमा छलफल नै गरिएन छलफल समेत नगरेको एजेण्डामा निर्वाचन समितिले आदरणीय अध्यक्ष ज्यूलाई आफ्नो निर्वाचन समितिको बैठकमा बोलाउनु भएछ म पनि त्यो संस्थाको महासचिव हुँ र महासचिवले त्यो भित्र भएका क्रियाकलापमा जानकारी राख्न पाउनु उसको अधिकार हो र मलाई त्यो निर्वाचन समितिको बैठकमा किन बोलाइएन ? मलाई नबोलाई अध्यक्ष ज्यूले पनि खबर नगरीकन त्यो बैठकमा नयाँ एजण्डाले कसरी प्रवेश पायो यसमा शंका छ । पाँच पानाको लामो दस्तावेज बैठक सकिएको दुई मिनेटभित्र पत्रकार महासंघको वेवसाइडमा अपलोड भएको छ ।
तपाईंले पनि केहि सुधार गर्न सक्नुहुन्न वेवसाइडमा ?
वेवसाइडका कुरा, बैंक डिटेलका कुरा, माइन्यूटका कुरा यसमा अहिले नजाउ यतातिर गएऊ भने अध्यक्ष ज्यूलाई अप्ठ्यारो पर्छ । म यो कुरा गर्न चाहान्न । मैले सहमतिकै आधारमा धेरै कुरा खपेको छु ।
अहिले मेरो आपत्ति निर्वाचन समितिले अध्यक्षलाई बोलाएपछि महासचिवलाई किन नबोलाएको ? निर्वाचन समितिलाई नियुक्त गर्ने म तर उहाँहरुको निजी बैठकमा खुसुक्क अध्यक्ष ज्यू जानुभयो उहाँ जान पाउनुहुन्छ तर महासचिवलाई किन सूचना दिनुभएन ?
तपाईंलाई एक्ल्याउन खोजियो या तपाईं बाहेक अरु कुनै समुहलाई एक्ल्याउन खोजिएको ? यो सबै हुनको पछाडि के थियो ?
त्यहाँ एउटा छुट्टै किसिमको जालो छ । त्यो जालो केहि हदमात्रामा तोडिएको छ । अहिले सबै कुरा प्रष्ट पर्न चाहन्न त्यो जालोलाई टेकेर उहाँहरुले महासंघमा अध्यक्ष, उपाध्यक्ष तयार गर्नुहुन्थ्यो त्यो अब चल्दैन । चुनाव जित्नकै लागि जस्तोसुकै हतकण्ठ अपनाएर पत्रकार नै नभएका मान्छेलाई जो जीवनमा नै कहिल्यै कलम चलाएनन् ति मान्छेहरुलाई अनेक वहानामा जम्मा गरेर अध्यक्ष, उपाध्यक्ष हुने कुरामा म सहमत छैन ।
निर्वाचन समितिको आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गयो भन्नुभयो, त्यो भनेको यो सबै पोस्टल मोटको कुरा देखि लिएर निर्वाचन तालिका आएको छ त्यसमा समस्या हो तपाईंलाई ?
यो मेरो व्यक्तिगत समस्या होइन तर यो आम दबिएका मान्छेहरुको आवाज हो । महासंघलाई माया गर्ने आदरणीय व्यक्तिहरुको विचार हो । यसको विधान र यसका वरपर रहेर काम गरिरहेका सम्पूर्ण शुभचिन्तकहरुको आवाज हो । महासचिव एक्लै बोलेको छैन यसमा सबैको साथ र सहयोग छ । केन्द्रिय प्रतिनिधि आएको छैन सदस्यता फाइनल भएको छैन अनि निर्वाचन समितिलाई अहिले यत्रो हंगमा त्यो पनि नयाँ प्रयोग पनि होइन यो महासंघमा रहने ४३ जनाको एउटा सानो आन्तरीक छलफल हो यसमा लुछाचुडि गर्नुपर्ने, झम्टेर जानुपर्ने, तलमाथि गर्नुपर्ने, शब्दमा खेल्नुपर्ने र नियममा खेल्नुपर्ने देख्दिन ।
महासंघको विधान भन्दा बाहिर गएर काम गर्ने छुट निर्वाचन समितिलाई पनि छैन । उहाँहरु सुप्रिम हुनुहुन्न् । उहाँहरुमा विवाद आइसक्यो विवाद आएपछि बाँकि काम स्थगित गरेर नेपाल पत्रकार महासंघले तोक्ने केन्द्रित प्रतिनिधिलाई समावेश गराएर बाँकी रहेका समस्यामा सहमति खोज्नु भन्दा उत्तम विकल्प म देख्दिन ।
त्यसो हो भने तपाईहरुसँग कति ओटा विकल्प छ ?
यसमा थुप्रै विकल्पहरु छन् । मैले यहाँ भित्र भएको विवाद, शंका र गतिविधिको बारेमा केन्द्रमा पत्रचार गरिसकेको छु । यहाँ विवाद आएपछि केन्द्रले पनि चासो देखाउनु पर्छ मलाई आशा छ केन्द्रले पनि यसमा चासो देखाएर हाम्रा आन्तरीक विवादलाई मिलाउन सहयोग गर्छ ।
नेपाल पत्रकार महासंघ जहाँ मतदाताले नेता होइन नेताले मतदाता छान्ने प्रणाली लागु भयो त्यसको मतलब ?
मैले प्रकृयाको विरोध गरेको मात्रै हो विधि संवद संस्था चल्नुपर्छ त्यो संस्थाको आस्था, विधान र परिभाषासँग मेल खाने सबै साथीहरु त्यहाँ अटाउनु पर्छ ।
अब के गर्नु हुन्छ तपाईंले ?
म चाहाँछु केहि छुटेका सम्पादक साथीहरुलाई साथमा लैजानुपर्छ । विशुद्ध पत्रकारहरुलाई समेट्नु पर्छ, निर्वाचनले आफ्नो प्रकृयालाई पनि रोक्नु पर्छ ।
अन्त्यमा, गएको तिन वर्षमा महासंघभित्र महासचिवमा रहेर के प्रगति गर्नुभयो ? अब आउने अधिवेशनमा तपाईं आफै नेतृत्वमा जाँदै हुनुहुन्छ अथवा कुनै महत्वपूर्ण पदमा त्यो पनि बताइदिनुहोस ?
विस वर्षदेखि सञ्चार क्षेत्रमा काम गर्दै आएको छु । पत्रिकाको सम्पादक भएर काम गरे, महासंघमा पनि छु, यूनियनकर्मी भएर पनि काम गरे । म मिडिया भन्दा बाहिर छैन, म एउटा नेतृत्व लिन सक्ने र लिन सक्ने स्तरमा जाने मान्छे हो यदि संस्थाले मेरो आवश्यक देख्यो भोलि सहमति खोज्दै जाँदा मेरो जस्तै विचार भएका सबै पत्रकार साथिहरुको हकहितमा काम गर्ने कोहि साथीहरु आउनुभएछ भने पनि मेरो समर्थन छ । म नै जानुपर्छ भन्ने पनि छैन ।
यदि समयले माग गरेछ भने म संस्थाको नेतृत्व लिन पछि पर्दिन म संक्षम पनि छु र म यो संस्थालाई उचित दिशामा पुर्याउने सामर्थे पनि राख्छु ।