April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पर्यटन प्रवर्धनका लागि नेपाल र कतारबीच सहकार्य हुँदै

3K

 पर्यटन प्रवर्धनका लागि नेपाल र कतारबीच  सहकार्य हुने भएको छ । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र  नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल बीच सोमबार पर्यटन प्रवर्धनका विषयमा सहमति भएको हो । 

पर्यटन बोर्डमा भएको उच्चस्तरीय भेटवार्ताका क्रममा दुवै देशबीच पर्यटन प्रवर्धन गर्न सकिने प्रर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने निस्कर्ष निकालिएको छ । बोर्डको निमन्त्रणमा आएका कतारी राजदूत मोहम्मद अल हैलले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताए । 
“नेपाल विश्वकै सुन्दर देशमध्येको एक हो । म आफैपनि नेपालका धेरै ठाउँ पुगेको छु । यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु । तर, यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसहरूले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन् । यसमा ध्यान दिन सके राम्रो होला” राजदूत हैलले भने । नेपालको पर्यटन विकासका लागि नयाँ ढंगले सोच्न आवश्यक रहेको उल्लेख गर्दै  नेपालको पर्यटन प्रवर्धनका लागि कतार सरकार सहयोग गर्न सधै तयार रहेको समेत बताए । 

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहेको जानकारी गराउँदै पर्यटन बोर्डले कतारसहित मध्यपूर्वमा पर्यटन  प्रवर्धनका नयाँ योजना अगाडि सारेको बताए । डा. रेग्मीले कतारबाट नेपाल आउन चाहने पर्यटकको आवश्यकता अनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको समेत जिकिर गरे, “नेपाल आउन चाहने पर्यटकको स्वागतका लागि नेपाल तयार छ ।”

Advertisement

कतारी पर्यटकको लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ, उनले भने, नेपाल र कतार बीच सिधा हवाई सम्पर्क समेत रहेकोले पर्यटक आवागमनमा खासै समस्या नहुने बताए । यसले पनि दुई देशबीचको पर्यटन प्रवर्धनमा बोर्ड सकारात्मक रहेको बताएको छ ।