लण्डन –विश्व नेपाली साहित्य महासंघ (विनेसाम) पश्चिमा शाखा बेलायतको त्रैमासिक गोष्ठिको अवसरमा विश्व नेपाली साहित्य महासंघ, पश्चिमा शाखा बेलायतको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई मध्यनजर गर्दै वर्तमान महिला अवस्था तथा विश्व नारी दिवस नामक भर्चुअल कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक साल ८ मार्चमा मनाईने नारी दिवसको अवसर पारी उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा देश विदेशमा रहेका वक्ताहरुले नारीको विषयमा आ-आफ्ना धारणा राखेका थिए । नारी दिवस धारणासहित भएको कार्यक्रममा प्रमुख आतिथ्यता बेलायतबाट नेपाली दुतावासका लागि उपनियोग प्रमुख रोशनी खनालले गर्नुभएको थियो भने एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ विशेष अतिथिमा हुनुहुन्थ्यो ।
कार्यक्रममा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिदैँ कोभिडको कारणले गर्दा विकसित देशहरुमा गरिएको अध्ययन अनुसार महिलाको अवस्था खस्केको जानकारी गराउँदै विशेष गरी कोभिडका कारण महिलाहरु बढी प्रभावित भएको बेलायतबाट नेपाली दुतावासका लागि उपनियोग प्रमुख रोशन खनालले प्रष्ट पार्नुभयो । विश्वका जुनसुकै देशहरु पूर्ण रुपमा विकसित हुनलाई महिलाको सहभागिता अपरिहार्य रहेको र आर्थिक-सामाजिक रुपले सवल महिला नेतृत्वमा पुग्दा महिलाको उत्थानमा सहयोग पुग्ने बताउनुभयो ।
खनालले भन्नुभयो “महिलाहरु आरक्षणमा मात्र सिमित नभई आफुले निर्णय गर्न सक्ने अधिकार सहित सवल र प्रभावकारी काम गर्न सक्ने महिलाहरु नेतृत्वमा पुगेपछि समग्र महिलाको अवस्था बुझ्न र महिलाहरुलाई आदार सम्मानका साथ जिम्मेवारी दिन र नेतृत्वमा पुग्न र पछि आउने पुस्तालाई पनि सहज हुनेछ ।”
कार्यक्रममा नेपालबाट साहित्यकार, कवि तथा लेखक मोमिला जोशीले नारीलाई सम्बोधन गर्दै भन्नुभयो “नारी पनि व्यवस्थापनमा चुस्त पोख्त हुन आवश्यक छ, किनकि नारी व्यवस्थापनमा पोख्त हुनु भनेको देश चलाउने क्षमता राख्नु हो ।” उहाँले थप्नुभयो “नारी उज्यालो प्रतिक हो, मान्छेले हानेका पत्थरहरु जति बटुलेर त्यही पत्थरले पुल निर्माण गर्न सक्छे, नारीले चुनौति स्विकार गरेपछि महिलाको सशक्त पहिचान आपसेआप हुन थाल्छ र पुरुषसँग सँगै हातेमालो गरी नारीको सभ्यता अगाडि बढ्छ ।”
अन्तर्राष्ट्रिय साहसि महिला अवार्ड पाएकी मुस्कान खातुनलाई सम्झदै जोशीले भन्नुभयो “मुस्कान खातुनको पिडाको मुस्कानले संसारलाई आकर्षित गरेको हो । तेजाब विरुद्धको अभियानमा खातुनले कानुननै बदलदिईन, उनकै कारण अध्यायदेश मार्फत सजाय सम्बन्धित विभिन्न कुराहरु पनि बद्लिए” । खातुनलाई बधाई दिदैँ महिला दिवसको अवसरमा यो समग्र महिलाको प्राप्ति पनि रहेको बताउनुभयो । हरेक क्षेत्रमा महिलाको सहभागिता भएतापनि उच्च स्थानमा महिला पुग्न नसकेको र उच्च स्थानमा महिला पुग्नको लागि चुज टु च्यालेन्जलाई स्विकार गर्नैपर्ने बताउनुभयो ।
कार्यक्रममा डा. सुमाया राईले नेपालमा महिलाहरुको शैक्षिक अवस्थाको बारेमा आफ्नो धारणा राख्नुभएो थियो । बिमला तुम्खेवाले पनि नारी विषयमा आफ्नो विभिन्न धारणा व्यक्त गर्नुभयो । त्यसैगरी शशी थापा सुब्बाले नेपाली कलाकारीता क्षेत्र र नेपाली नारीको वर्तमान अवस्था र चुनौतिहरुको विषयमा आफ्नो विचार राख्नुभयो । नेपालमा नेपाली पत्रकारीतामा महिलाको अवस्था र चुनौति विषयमा प्रमिला राई बोल्नुभएको थियो । अधिवक्ता भोला विक्रम राईले पनि नेपाली नारीहरुका कानूनी हक र हितका विषयमा आफ्नो विचार प्रस्तुत गर्नुभयो भने महिला हिंसाको विषयमा पुष्पा सुनुवारले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता विनेसामका अध्यक्ष लालसुन्दर राईले गर्नुभयो भने कार्यक्रम सञ्चालन विनेसामकी सचिव शान्ति लिम्बूले गर्नुभएको थियो । कार्यक्रममा अधिकाशं अतिथिहरु महिला नै हुनुहुन्थ्यो । कार्यक्रमको दोस्रो चरणमा नारी सम्बन्धि लेखिएको रचना वाचन पनि भएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाहरुबाट प्रतिनिधिहरुको उपस्थिति थियो साथै सबैले आ-आफ्नो धारणा व्यक्त गर्दै अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना समेत दिनुभएको थियो ।
विश्व नेपाली साहित्य महासंघ हालसम्म शाखा उपशाखा गरी २७ वटा देशमा विस्तार भैसकेको छ ।
https://www.facebook.com/watch/live/?v=790734778457083&ref=watch_permalink