लण्डन – प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालमा अधिकार प्राप्तिको आन्दोलनमा पूर्व गोर्खाहरुको ठूलो योगदान रहेको बताएका छन् । ७०औं प्रजतन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतले आयोजना गरेको भर्चुअल कार्यक्रममा पुडासैनीले बोल्दै २००७ सालको राणाकालदेखि पञ्चायतसम्म नागरिकहरुले आफ्नो अधिकार पाउनको निम्ति संघर्ष गरेको बताउँदै यसमा पूर्व गोर्खाहरुको ठूलो योगदान रहेको बताएका हुन् ।
नेपाललाई गणतन्त्र नेपालका रुपमा स्थापना गरेको र संघीय गणतान्त्रिक नेपाल बनाउने अभियानमा राणाकालदेखि अहिलेसम्मका लडाईमा वीरगति प्राप्ति गरेका सहीदहरुप्रति हार्दिक नमन गर्दै भने “नेपालको इतिहासमा बामपन्थी खेमा र प्रजातान्त्रिक खेमाहरुले हाम्रो अधिकार प्राप्तिको लडाईमा ठूलो योगदान दिएको छ ।”
वर्तमान समयमा मुलुकको अवस्था सार्वभौमसत्ता सम्पन्न जनताहरुको अधिकारमाथि जसरी अधिकार कुण्ठित गर्ने प्रयास भएको छ फेरि एकपल्ट सबै लोकतन्त्र , प्रजातन्त्र रक्षाका लागि र संविधानलाई ट्रयाकमा ल्याउनकोलागि आन्दोलनमा सहभागी हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै पुडासैनीले दिनदिनै नागरिक अधिकारहरु खोसिएको र दिनदिनै बोल्न रोक लगाउने काम सुरु भएको स्पष्ट पारे । सत्तारुढ दलको आन्तिरीक झगडाको कारणले प्रधानमन्त्रीज्यूले आफ्नो घर जलाउँदै, छिमेकीको घर जलाउँदै गाउँ नै जलाउने कार्य गरेको बताए।
संविधान विधेयक भयो भने तपाई-हाम्रा अधिकार गुम्न सक्ने चेतावनी दिदैँ जनताको अधिकारको सुनिश्चितता र जनतामा निहित सार्वभौमसत्ताको अधिकारको प्रयोग जनता स्वयंमले गर्नुपर्ने बताए “हाम्रो अधिकारको हनन हुने जुन कृयाकलाप नेपालमा भैरहेको छ हामी फेरि एकपल्ट लोकतन्त्र र गणतन्त्र रक्षाका लागि एकै ठाउँमा उभिनु पर्छ” पुडासैनीले भने ।
अहिलेसम्म पाएका अधिकारहरुको रक्षा गर्दै अरु अधिकार पाउनकालागि सबैलाई एकजुट हुन आग्रह समेत गरे ।