लन्डन । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा आउने तयारी भइरहेको छ । बेलायती राजा चार्ल्स तृतीयको आगामी मे ६ तारिखमा लन्डनस्थित वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल बेलायत आउन लागेका हुन् ।
स्रोतका अनुसार राष्ट्रपति पौडलेको भ्रमणबारे लन्डनस्थित नेपाली दूतावासले पनि आफ्नो तर्फबाट तयारी थालेको छ । तर, भ्रमण तालिका सार्वजनिक हुन भने बाँकी नै छ ।
राष्ट्रपति पौडेल राजा चार्ल्स तृतीयको राज्याभिषेकका लागि बेलायत भ्रमण गर्ने तय भए पनि जाने र फर्कने मिति टुंगिइ नसकेको र त्यसका लागि आवश्यक पूर्वतयारी भने भइरहेको जनाइएको छ ।
पौडेलले बेलायतमा रहँदा नेपाली समुदायलाई पनि भेटघाट गर्ने अपेक्षा गरिएको छ । उनका छोरा बुहारी बेलायतमै छन् ।
स्रोतका अनुसार राज्याभिषेक समारोहमा झण्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा विश्वभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने अपेक्षा छ ।