April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘किसुनजी र गिरिजाबाबुका प्रिय’ गोविन्द भट्टराईले गरे तनहुँ १ बाट चुनाव जित्ने दावी

1.5K

काठमाडौं । बैशाख १० गते हुन लागेको उप निर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराई आफू विजयी हुने दाबी गरेका छन् । नेपाली कांग्रेसको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेलगत्तै भट्टराईले यस्तो दाबी गरेका हुन ।

उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि हुन लागेको उपनिर्वाचनमा भट्टराई कांग्रेसको आधिकारिक उम्मेदवार बनेका हुन । उनलाई सत्तारुढ १० दलको समर्थन छ ।

भट्टराईले उपनिर्वाचनमा आफ्नो जित निश्चित रहेको बताए । गत निर्वाचनमा रामचन्द्र पौडेल भारी मतले जितेको क्षेत्र भएको भन्दै उनले भने, ‘अहिले पनि कांग्रेसको जित निश्चित छ । पहिले पनि कांग्रेसले जित्दै आएको ठाउँ हो । अहिले गठबन्धन पनि छ । त्यसैले पहिलेको भन्दा धेरै मत आउँछ । गठबन्धन दलका संरचना पनि एकताबद्ध भएर र क्रियाशील भएर यो उपनिर्वाचनमा भारी मतले निर्वाचित गराउन उत्सुक हुनुहुन्छ ।’उक्त क्षेत्रमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले आफ्नो उम्मेदवार अघि सारेका छन् ।

Advertisement

विद्यार्थी राजनीतिबाट पार्टीमा स्थापित भट्टराईलाई अग्रज पत्रकार शेषकान्त पण्डितले ‘किसुनजी र गिरिजाबाबु दुवैका प्रिय थिए नेता’ भनेर व्याख्या गरेका छन् । राजनीतिमा निष्ठा, त्याग, समर्पण र धैर्यता चाहिन्छ भन्ने सन्देश भट्टराईको राजनीतिक जीवनबाट लिन सकिने पण्डितको भनाइ छ । ।

अग्रज पत्रकार पण्डितले भट्टराईका बारेका अगाडि लेखेका छन्,‘बुटबल बहुमुखी क्याम्पसको खुला चौरमा २०४८ साल असोज १६ गते काँग्रेस सभापति कृष्णप्रसाद भट्टराईले उद्घाटन गर्नुभएको नेविसंघको छैठौ महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भएपछि राष्ट्रिय राजनीतिमा उदाउनुभएको हो काँग्रेस नेता गोविन्द भट्टराई । यसअघि शकरदेव क्याम्पसमा स्ववियु सभापति भएपछि उहाँलाई राजनीतिमा फड्को मार्न सहयोग पुगेको थियोे । यसपछि उहाँ विद्यार्थी राजनीतिको अगुवाईपूर्ण भूमिकामा नै पुग्नुभयो । एकताका किसुनजी र गिरिजाबाबु मात्रै होइन समकालीन नेताहरु सबैको रोजाईमा नेता भट्टराई पर्नुहुन्थ्यो ।

२०५३ सालमा विराटनगरमा भएको नेविसंघको सातौ महाधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । नेताहरु विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर उहाँको समूहमा हुनुहुन्थ्यो । २०५६ सालमा नेविसंघको तदर्थ समिति गठन हुँदा भट्टराई नै अध्यक्ष हुनुभयो । एक ताका नेविसंघभित्र सहमति खोज्ने मुख्य पात्र नै हुनुभएको थियो भट्टराई । किसुनजी र गिरिजाबाबु मात्रै होइन विद्यार्थी नेताहरु पनि भट्टराईले नेविसंघको नेतृत्व गर्ने भनेपछि सबैले स्वीकार गर्ने परिस्थिति निर्माण भएको थियो । तरुण दलमा समेत उहाँ महामन्त्री भइसक्नुभएको छ ।

२०४९ सालमा बिश्वबिद्यालय क्याम्पस कीर्तिपुरमा स्ववियु सचिव तथा २०७४ मा तनहुँ प्रदेश क बाट प्रदेश सभाको निर्वाचनमा भने उहाँ विजय हुन सक्नु भएन । उहाँ कांग्रेसको ११ औ महाधिवेशनका लागि तनहुँबाट केन्द्रीय प्रतिनिधिमा निर्वाचित हुनु भएको थियो।

१३औं महाधिवेशनमा उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । काँग्रेसको केन्द्रीय कार्यसमितिमा दुई कार्यकाल सदस्य भइसक्नुभएका नेता भट्टराई आगामी २०८० साल वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ । जिल्लामा टिकट नपाएका धेरै नेताहरुको व्यवस्थापन गर्नुपर्ने र सबैलाई समेट्नुपर्ने जिम्मेवारी उहाँको काँधमा आएको छ । उहाँ त्रिभुवन बिश्वबिद्यालयबाट बिद्यावारिधि समेत गदै हुनुहुन्छ ।

राजनीतिमा निष्ठा, त्याग, समर्पण र धैर्यता चाहिन्छ भन्ने सन्देश भट्टराईको राजनीतिक जीवनबाट लिन सकिन्छ । पार्टीभित्र विगतमा उचित स्थान नपाए पनि भट्टराईले धैयता गुमाउनु भएन । अब गरिमामय जिम्मेवारी सम्हाल्ने अवसर नजिकै आएको छ । अग्रीम बधाई तथा शुभकामना नेता गोविन्द भट्टराईलाई ।’