काठमाडौ । वामपन्थी नेता घनश्याम भुसाल शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गर्दै छन् । काठमाडौंमा एक कार्यक्रमका बीच भुसाल एकीकृत समाजवादीमा प्रवेशको घोषणा गर्न लागेका हुन् ।
एमाले स्थायी कमिटी सदस्य समेत परित्याग गरेका भुसाल गत आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तत्कालिन पाँच दलीय गठबन्धनको समर्थन रहे पनि उनी रुपन्देही १ बाट एमाले सचिव छविलाल विश्वकर्मासंग पराजित भएका थिए ।
एकीकृत समाजवादी प्रवेश गरेपछि भुसाललाई महासचिवको जिम्मेवारी दिने तयारी पार्टीले गरेको छ । तर एकीकृत समाजवादीको महासचिव बन्ने चर्चा चले पनि भुसाललाई कुन जिम्मेवारी दिने भन्ने विषयमा पार्टीमा छलफल नभएको दावी पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले गरेका छन् । एकीकृत समाजवादी स्रोतका अनुसार भुसाललाई महासचिव बनाउँने निश्चित रहेको तर कुनै कारणले हुन नसके उपाध्यक्ष दिने बिषयमा समेत छलफल जारी नै छ ।
‘घनश्याम कमरेड पार्टीमा आउने पक्का भइसक्यो । सैद्धान्तिक वैचारिक विषयमा सहमति भएको छ । तर, उहाँको जिम्मेवारीको विषयमा छलफल भएको छैन । उहाँ पार्टी प्रवेश गरिसकेपछि यस विषयमा अवश्यनै छलफल हुनेछ’ प्रवक्ता खतिवडाले भने । पार्टी प्रवेश गरेपछि भुसाल पहिलो चरणमा सचिवालय सदस्य बन्नेछन् । त्यसपछि बस्ने केन्द्रीय समितिले मात्र घनश्यामको ठोस जिम्मेवारी तोक्न सक्ने प्रवक्ता खतिवडाको भनाइ छ ।