April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

समर्थन गरेकै दलबाट प्रधानमन्त्री प्रचण्डलाई संकट, कांग्रेस ‘डरलाग्दो’चलखेलमा

1.2K

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिने तयारी गरिरहेका बेला समर्थन गरेका दलहरु विश्वासको मत दिनुअघि विभिन्न शर्तहरु तेर्साएर सरकारलाई संकटमा पार्ने खेलमा लागेका छन् ।

प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले सरकारलाई असहज बनाउन विभिन्न अफरहरु अघि सारेको छ । २६ पुसमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी गरीरहेका बेला प्रचण्डलाई विश्वासको मत पाउनबाटै वञ्चित गरिदिएर सरकार ढाल्ने गरी कांग्रेसले सक्रियता बढाएको छ । कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनता समाजवादी पार्टी जसपालाई फकाइरहेको छ ।

स्रोतका अनुसार सत्ता गठबन्धन छाडेर आए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री स्वीकारेर अघि बढ्न सकिने अफरसमेत कांग्रेसले दिएको छ । राप्रपाका एक शीर्ष नेताले पनि दाहाल नेतृत्वको सरकार ढाल्न आफूहरूलाई कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताए ।

Advertisement

त्यस्तै प्रचण्डलाई विश्वासको मत लिनेबेलासम्म आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका दललाई जोगाएर राख्नै सकस देखिएको छ। राप्रपाले सरकारमा सहभागी हुन र प्रचण्डलाई दिएको समर्थन कायम राख्न २७ पुसमा पृथ्वी जयन्तीको अवसर पारेर सार्वजनिक बिदा घोषणा गर्नेदेखि लिएर उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय माग गरेको छ, जबकि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष शर्मा केपी ओली बढीमा २ मन्त्रालय मात्र राप्रपालाई दिनुपर्ने पक्षमा छन्।

उता, सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना संस्थापक नेता रेशम चौधरीको रिहाइलाई सरकारलाई दिएको समर्थनको निरन्तरताका लागि पहिलो र एक मात्र शर्त बनाएको छ । सो पार्टीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रपति समक्ष पेस भएको अध्यादेश जारी भएर नेता चौधरी रिहा भएको अवस्थामा मात्र सरकारलाई दिएको प्रारम्भिक समर्थनलाई संसद्सम्म लैजाने शर्त अघि सारे पनि प्रचण्ड सङ्कटमा परेका छन् ।

तर, नागरिक उन्मुक्ति पार्टी भने पहिला परिणाम नआई प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने अडानमा छ। राष्ट्रपतिकहाँ प्रधानमन्त्रीको दाबी पेस गर्न जाँदै गर्दा थाहै नपाएको नेकपा एसले पनि पछिल्ला दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकको भूमिका र बेवास्ताको कारण देखाउँदै समर्थन गर्न अत्तो थापिरहेको छ ।

‘एमालेका दोस्रो तहका केही नेता भने नेकपा एसलाई तत्काल स्वीकार गर्न नसकिने पक्षमा छन् । तर, अध्यक्ष ओली भने पार्टी एकीकरण हुने अवस्था बने र यसको भरपर्दो बातावरण भए नेकपा एसका नेतालाई राष्ट्रपति नै दिएर पनि सरकारलाई अघि बढाउने पक्षमा छन् । एमालेभित्र नेकपा एसलाई हेर्ने दृष्टिकोणमा समान धारणा नबनिसकेको अवस्थामा २६ पुसमा सो पार्टीलाई कसरी विश्वासमा लिने भन्ने सङ्कटमा प्रचण्ड छन् ।

माओवादीका एक नेताका अनुसार राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेकपा एस मात्र होइन, जसपाले समेत पछिल्ला दिन प्रदेश नेतृत्को अत्तो थापेर सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन नसकिने सङ्केत दिएको छ । सरकारलाई ‘साइज’मा ल्याउनकै लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति देउवालाई निवासमै पुगेर भेटेको सो पार्टीका नेताहरू बताउँछन् ।