November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

देउवालाई कारवाही आवश्यक छैन, कांग्रेसको नीति अधिवेशन जरुरी छ

1.4K

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेर केन्द्रसहित सातै प्रदेशबाट कांग्रेस सत्ता बाहिर रहनुपर्ने अवस्था आएपछि पार्टीमा विवाद बढेको छ । संस्थापन पक्षको एकलौटी सोच र व्यवहारका कारण कांग्रेस पहिलो पार्टी भएर पनि प्रतिपक्षमा सीमित हुनु परेपछि गगन–शेखर समूहले छलफल शुरु गरेको छ ।

बुधबार काठमाडौंको बालुवाटारमा भएको भेलामा इतर समूहले संस्थापन पक्षको एकांकी र सत्ता लिप्साकै कारण कांग्रेस सत्ता बाहिर पुगेको निष्कर्ष निकालेको छ । त्यस्तै नेता डा. शेखर कोइरालाले कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउन माग गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत भएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनु पर्ने बताएका हुन् ।

कांग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको र कांग्रेसको पनि कमजोरी रहेको उनले बताए ।

Advertisement

कोइरालाले कांग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको पनि बताए । ‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौं,’ कोइरालाले भने । आफूहरूको मान्यता निर्वाचन पछि गठबन्धन गर्ने भन्ने रहेपछि निर्वाचनमा जाँदा नै गठबन्धन गर्दा कमजोरी भएको पनि उनले बताए ।

गठबन्धन विभाजन भएको विषयमा नेपाली काँग्रेसको आगामी पुस २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने उनले बताए । ‘हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो । कसरी वार्ता गर्नुभयो । यो विषयमा २२ गतेदेखिको बैठकमा निर्मम समीक्षा गर्छौं,’ कोइरालाले भने ।

अन्तिम समयमा महामन्त्रीहरुलाई बोलाएर निर्णय गरेको भए राम्रो हुने भन्दै कोइरालाले भने, ‘निर्णय गर्दा महामन्त्रीहरुलाई बोलाएको भए हुन्थ्यो । सबैलाई बोलाएर गर्दा पनि हुनेथियो तर, त्यो सम्भव थिएन । कम्तीमा पदाधिकारीलाई बोलाएर । त्यो पनि सम्भव छैन भने महामन्त्रीलाई बोलाएको भए हुनेथियो ।’