March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

डा.शशांकलाई केबी गुरुङको सुझाव: ‘सच्चा कार्यकर्ताको नेतृत्व तपाइँले गर्नुपर्छ’

2.4K

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पूर्वमहामन्त्री कुलबहादुर(केबी) गुरुङसँग भेट गरेका छन् । भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछिको राजनीतिक अवस्थाका बारे छलफल भएको छ ।

भेटका क्रममा पूर्वमहामन्त्री गुरुङले नेपालको अस्थिर राजनीतिप्रति असन्तुष्टी जनाउँदै नेपाली कांग्रेस पार्टी सुकिलामुकिलाको मात्र बन्दै गएकोमा दुखेसो व्यक्त गरे । वीपी कोइरालासँग लामो समय सँगै काम गरेको अनुभव सुनाउँदै उनले भने,‘वीपीले भन्नुहुन्थ्यो कुनैबेला कांग्रेसभित्र सुकिलामुकिलाको हाबी हुनसक्छ तर विस्तारै सच्चा कार्यकर्ताकै हातमा कांग्रेस फर्किन्छ । अहिले त्यस्तै भएको छ । सुकिलामुकिला हावी सँधै रहँदैन । विस्तारै सच्चा र इमान्दार कार्यकर्ताको हातमा कांग्रेस पुग्छ’, उनले भने,‘सच्चा कार्यकर्ताको हातमा पार्टी पुग्दासम्म म यो धर्तीमा नरहुँला तर ति सच्चा र इमान्दार कार्यकर्ताको नेतृत्व तपाइँले लिनुपर्छ । सानदाजु(वीपी)ले परिकल्पना गरेको कांग्रेस बनाउने जिम्मा तपाइँको काँधमा छ ।’

पूर्वमहामन्त्री गुरुङले बीपीले देखाएको बाटोभन्दा नेपाली राजनीति गलत बाटोमा गएकोप्रति गहिरो चिन्ता ब्यक्त गरेका थिए । भेटका क्रममा डा.शशांकले दलीय व्यवस्था र राजनीतिक प्रणालीप्रति युवाहरुमा देखिएको निराशलाई आफूले निस्तेज गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘देशमा अस्थिरता, भ्रष्टाचार र व्यथिती बढेको छ । युवाहरुमा बितृष्णा छ । अहिलेको अवस्थामा राजनीतिक उपलब्धीहरुलाई कांग्रेसले संस्थागत गर्दै लैजानुपर्छ । परिवर्तन र उपलब्धीहरुलाई संस्थागत गर्न मेरो क्रियाशिलता रहनेछ ।’

Advertisement

भेटका अवसरमा नवलपरासी पूर्व १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकोमा गुरुङले डा.शशांकलाई बधाई दिंदै आर्शिवाद प्रदान गरेका थिए ।