March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

सांसदहरुको शपथपछि मात्र नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइनुपर्छ : डा.शशांक

2.1K

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशांक कोइराला सांसदहरुको शपथपछि मात्र नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

सोमबार प्रथम राष्ट्रपति डा.रामवरण यादवलाई भेट्न पुगेका डा.कोइरालाले प्रतिनिधि सभाका जेष्ठ सदस्यले सांसदहरुको शपथ गराइसकेपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउनुपर्ने प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि सोमबार डा.कोइरालाको यस्तो प्रतिक्रिया आएको हो । ‘सांसदहरुको शपथ नै नगराइ नयाँ सरकार गठनप्रक्रियाका लागि आब्हान गर्नु विधि, विधान विपरित छ । पहिले सांसदहरुको शपथ गराएर मात्र सरकार गठन अघि बढाउनु उपयुक्त विधि हो,’ डा.कोइरालाले भने ।

Advertisement

भेटमा राजनीतिक दलहरुप्रति आम नागरिकको वितृष्णा बढेको भन्दै यसका लागि दलीय राजनीतिप्रति विश्वास बढाउन निर्वाचित सांसदहरुको भूमिका गहन हुने पनि उनको भनाइ थियो । देशमा बढ्दो भ्रष्टाचार, व्यथिति र दलीय राजनीतिप्रतिको वितृष्णाले थप अस्थिरता निम्तने भएकाले यस विषयमा सांसदहरु गम्भीर बन्नुपर्ने डा.कोइरालाले सुझाव दिनुभएको भेटमा सहभागी कांग्रेस नेता संजिव ढकालले जानकारी दिए ।

भेटका क्रममा राष्ट्रपति डा.यादवले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रम र निर्वाचन परिणामका बारेमा चासो राखेका थिए । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया अघि बढीरहेका बेला डा.शंशाकले भेटघाटलाई तिब्रता दिएका हुन् ।