March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

नगरपालिकाहरु अव्यवस्थित शहरीकरणबाट गुज्रिए, प्रशस्त सुधार गर्नुहोला : प्रधानमन्त्री

950

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउँदै अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुने गरी स्थानीय श्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दयित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने बताए । उनले स्थानीय तहको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु आवश्यक रहेको बताए ।

देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने भएकाले नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्ने बताए । उनले जनताको काम बिना झन्झट, छिटो र छरितो रुपमा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिवद्ध हुन आवश्यक रहेको समेत बताए ।

Advertisement

प्रधानमन्त्री देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरु, योजनावद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलैसा, हरियाली क्षेत्र र सरसफाई आदिको समुचित प्रवन्ध गर्न आवश्यक रहेको पनि बताए ।

उनले मुलुकको अधिकांश नगरपालिकाहरु अव्यवस्थित शहरीकरणबाट गुज्रिदा नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र शहरहरु दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेका बताए । देउवाले वातावरण मैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिए ।