January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

कांग्रेस नेताहरुको जोडः देउवाकै नेतृत्वमा नयाँ सरकार

2.4K

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाईँ दिँदै सो निर्देशन दिएका हन् ।

प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गर्नु भएको सञ्चारमन्त्री समेत रहनु भएका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वास समेत व्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै नेताहरुले प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका छन् । प्रवक्ता डा.प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा काँग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने तर्क समेत गरे ।

Advertisement

भेलामा सहभागी हुनु भएका काँग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गर्नु भएपनि सरकारको नेतृत्व काँग्रेसले नै गर्नु स्वभाविक हुने प्रतिक्रिया दिए । उनले आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वभाविक रुपमा लिने धारणा समेत राखे ।

प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा काँग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क छन् । उनले काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढने बताए । नेता निधिले भने, ‘नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ । र, हाम्रो चाहना पनि हो । र, अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो । प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याई हो ।’

सांसद दिपक खड्काले काँग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरुबीचमा सहमती जुट्ने बताए । उनले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताए । सांसद खड्काले भने,, ‘ठूलो दल हुनुको नाताले नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसको पक्षमा सहमती जुटने विश्वास छ । सांसदहरुको अंकगणितलाई हेर्ने हो भने देउवाले दावी गर्दा त्यही नै भारी हुने देखिन्छ ।’