February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

उपत्यकाबाट निर्वाचित सासद भन्छन् : ‘जनमत अनुसार चल्छौं’

1.3K

काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका सांसदहरुले जनमत अनुसार चल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ललितपुर महानगरपालिका १० तरुण दल कार्यसमितिद्धारा शनिबार कुपण्डोलमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा काठमाडौं उपत्यकाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले जनताको चाहना विपरित जाने छुट कसैलाई पनि नभएकाले जनमत अनुसार नै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

ललितपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद उदयशमशेर राणाले जनताले राजनीतिलाई फरक रुपमा लिएकाले अब जनताको भावना अनुसार नै नेताहरु अघि बढ्नु पर्ने बताए ।

Advertisement

काठमाडौं १० बाट निर्वाचित सांसद राजनकुमार केसीले लोकतन्त्रमा जनता नै शक्तिमान भएको बताउँदै जनताको सुझाव अनुसार नेता कार्यकर्ता अघि बढ्नु पर्ने बताए । उनले तल्ला तहमा बसेर काम गर्ने पार्टीका नेता कार्यकर्ताले नै पार्टीलाई बललियो बनाउने भन्दै कांग्रेसको जग नै तल्लो तह भएको बताए ।

कार्यक्रममा ललितपुरबाट प्रदेश सभा सदस्यनिर्वाचित मीनकृष्ण महर्जन र उर्मिला केसीले प्रदेश तहको पार्टीको संरचनालाई बलियो बनाउँदा पार्टी थप शशक्त हुने बताए । कार्यक्रममा ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठले प्राप्त जनमतको रक्षा गर्दै अघि बढ्नु पर्ने बताए ।

यस्तै पूर्व जिल्ला सभापति तथा पूर्व मन्त्री ओमकार श्रेष्ठले कांग्रेसका लागि कार्यकर्ताले गरेको त्याग र लगानी बुझेर निर्णय अघि बढ्न नवनिर्वाचित सांसदहरुलाई सुझाव दिएका थिए । तरुण दल इकाइ सभापति विश्वास शाहले तरुण दल नै कांग्रेसको मेरुदण्ड भएकाले यूवा तरुणको संगठनलाई बलियो थप शशक्त बनाउने तर्फ ध्यान दिन आग्रह गरे ।