काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसको गढ मानिएको उक्त क्षेत्र यसपाली कमजोर स्थितिमा पुगेको छ ।
खनालले १४ हजार २०४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८ हजार ९११ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।
काठमाडौं ६ मा निर्वाचित खनाल टिच फर नेपालका सहसंस्थापकसमेत हुन् । खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सन् २०१९ मा उनले युवा सीईओको अवार्डसमेत पाएका थिए ।
उक्त क्षेत्रमा यसअघि २०७४ सालमा कांग्रेसका प्रधान विजयी भएका थिए । उनले एमाले–माओवादी गठबन्धनका झक्कुप्रसाद सुवेदीलाई हराएका थिए । प्रधानले १६ हजार ७ सय ८५ र सुवेदीले १५ हजार ४ सय ८५ मत पाएका थिए । २०७० मा पनि उक्त क्षेत्रबाट प्रधान विजयी भएका थिए ।