काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक,लिम्पियाधुरा र कालापानीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाफ फर्काएका छन् ।
पोखरामा पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतसँग वार्ता गरेर नेपाली भूमि फिर्ता ल्याइने प्रतिबद्धता जनाए । राष्ट्रियता, राष्ट्रिय हित र स्वाधिनताको प्रश्नमा एमाले अडिग रहेको उनको भनाइ छ ।
केही दिन अगाडि धनगढीमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले भारतसँग लडेर लिपुलेक फिर्ता ल्याउन नसकिने बताएका थिए । त्यसको जवाफमा अध्यक्ष ओलीले बन्दुकले नभएर वार्ता गरेर नेपाली भूभाग फिर्ता ल्याइने बताए ।
‘मैले दार्चुला गएर बोल्दा हाम्रो गुमेको फिर्ता ल्याउनुपर्छ भनेँ, भोलिपल्ट देउवाजीले जवाफ दिनुभयो –भाषण गर्दैमा आउँछ फिर्ता ? कुरा गरेर फिर्ता आउँछ ? बन्दुक लिएर जानुस् न सक्नुहुन्छ भने, म कठैबरा भन्न चाहान्छु, नेपाली कांग्रेसका तत्कालीन सभापति तत्कालीन प्रधानमन्त्री मातृका प्रकाश कोइरालाले ००८ सालमा १७ वटा भारतीय सैन्य चेकपोष्ट सम्झौता गरेर उत्तरी सिमानामा लगेर राखे, कीर्तिनिधि विष्टले यस्तो चेकपोष्ट राख्नुहुँदैन हाम्रो स्वाधिनता र स्वाभिमान विपरित तपाइँहरुले यी हटाउनुस् भन्दा भारतले मानेन्, १७ वटा चेकपोष्ट कीर्तिनिधिले हटाए, बन्दुक लिएर होइन, कुरा गरेर शेरबहादुरजी, कुरा गरेर फिर्ता ल्याउँछौं, बन्दुकले मान्छे मार्ने हो, प्रचण्डको संगत गरेर बन्दुककै भाषण गर्न थालेछन्, बन्दुकले केही गर्दैन, तर्कले तथ्यले सत्यले केही गर्छ ।’
अध्यक्ष ओलीले भारतसँग कुरा गरेर नेपाली भूभाग फिर्ता लिइने प्रतिबद्धता जनाए । भारतले नाकाबन्दी लगाउँदा नाकाबन्दी शब्द समेत देउवाले प्रचण्डले उच्चारण गर्न नसकेका बताए । तुइन काटिएर नेपालीले ज्यान गुमाउँदा पनि देउवा चुइक्क बोल्न नसकेको बताउँदै अध्यक्ष ओलीले भने, ‘घुँडा टेक्नुको पनि हद हुन्छ ।’