November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मोरङ ६ बाट चुनावी मैदानमा रहेका डा.शेखर कोइरालाले सार्वजनिक गरे ‘मेरो संकल्प’

२०७९ कार्तिक १९

9.7K

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.शेखर कोइरालाले आफ्नो संकल्प प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधानको रक्षा, राजनीतिक स्थिरता,सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प’ नारासहित शनिबार डा.कोइरालाले संकल्प प्रस्ताव सार्वजनिक गरेका हुन् ।

उनले क्षेत्रको आर्थिक असमानता र गरीबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । युवा बेरोजगारीको समस्या समाधान साथै ज्येष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य उपचार सँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम ल्याउने डा.कोइरालाको संकल्प छ ।

‘हाम्रो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको छ । अब विविधता बीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सदभावलाई संरक्षण गर्दै यस क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउनु छ । संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि नेपाली कांग्रेस पार्टी र गठबन्धनले मलाई मोरङ क्षेत्र नं ६ बाट उम्मेदवार बनाएको छ,’ संकल्प पत्रमा भनिएको छ ।

Advertisement

डा.कोइरालाले गछिया, केशलिया (बुढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने, विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइने साथै बिराटनगर चक्रपथको काम सम्पन्न गरि यथासक्य छिटो सञ्चालनमा ल्याउने संकल्प गरेका छन् ।

उनले भनेका छन्,‘ मोरङ क्षेत्र नं ६ को समग्र विकास र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन मलाई तपाईहरुको सहयोगको आवश्यकता छ । म समग्र नेपाली कांग्रेस भित्र पुस्तान्तरण र रुपान्तरणको लागि मात्र लडिरहेको छैन, मोरङको गौरवशाली ः इतिहास र परम्परालाई समेत निरन्तरता दिने प्रयासमा छु । आज जब म तपाईहरुसँग विवेकको प्रयोग गर्नुहोस् भनी मतको अनुरोध गरिरहेको छु, तब म आधुनिक नेपालको इतिहास निर्माता बीपी कोइरालालाई सम्झिरहेको छु । बीपी जसलाई हामी सबै (सान्दाजु) भनी सम्बोधन गर्दथ्यौँ, संयोगले म उहाँले नै चुनाव लड्नुभएको क्षेत्रमा भोट माग्न तपाईहरुको घरदैलोमा आएको छु । यो त्यही क्षेत्र हो जहाँ गिरिजाप्रसाद कोइराला आफ्नो प्रतिनिधि छान्न मतदान गर्नुहुन्थ्यो ।’

‘म माथि मेरो क्षेत्र र समग्र लोकतान्त्रिक आन्दोलनको ठुलो अपेक्षा छ । म मेरा मतदाताहरुलाई र मोरङको गौरवशाली इतिहासलाई साक्षी राखेर विश्वास दिलाउन चाहन्छु म किमार्थ तपाईहरुको भरोसामाथि कुठाराघात गर्ने छैन । म तपाईहरुको मतको अपमान हुन दिने छैन र शिर झुक्न दिने पनि छैन । आगामी मंसिर ४ गते तपाईहरुको मतबाट हुने विजय हामी सबैको विजय हुनेछ। यो मोरङको विशिष्ट राजनीतिक संस्कार र परम्पराको जित हुनेछ । यो क्षेत्रको मात्रै हैन समग्र राष्ट्रलाई नै समन्याय, असल शासन र समुन्नतिको बाटोमा अघि बढाउन मलाई ठुलो प्रेरणा मिल्ने छ’, डा कोइरालाले भनेका छन् ।

उक्त क्षेत्रको प्रदेश सभा सदस्य पदका लागि प्रदेश (क) बाट नेकपा माओबादी केन्द्रका जीवन आचार्य र मोरङ क्षेत्र ६ प्रदेश (ख)बाट नेपाली कांग्रेसका केदार कार्की उम्मेदवार छन् ।