काठमाडौं । नेपाली कांग्रेसका नेता एवम काठमाडौं–७(ख)बाट संयुक्त गठबन्धनका प्रदेश सभा उम्मेदवार सविन तामाङले विकास र अवसरबाट बन्चित रहेका आफ्नो क्षेत्रको उत्थानका लागि डटेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार तारकेश्वर–३ को धुलेपुललगायत क्षेत्रमा पुगेका तामाङले बिकासका हिसावले पिछडिएको र दुर्गम क्षेत्रलाई माथि उकास्न केन्द्रसम्म पहुँच विस्तार गरी दिर्घकालिन योजनाहरु अघि सार्ने बताएका हुन ।
‘काठमाडौं बाइपास नजिक रहेका कतिपय स्थानहरु पिछडिनुको कारण सामान्य व्यवस्थापन नहुनु हो । यसका लागि स्थानीय, केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न सकिन्छ’, उनले भने,‘कृषि उत्पादनको अथाह सम्भावना भएको यस क्षेत्रमा कृषिका ठूला परियोजनाहरु भित्र्याएर सहयोग गर्नेछौं ।’ तामाङले पिछडिएका आफ्ना क्षेत्रको विकासका लागि केन्द्रसम्म पहुँच विस्तार गरेर सुविधा सम्पन्न बनाउन पहल गर्ने बताए ।
वडा र नगरपालिकाको साधन स्रोतले नपुगेका स्थानहरुको विकासका लागि प्रदेश र केन्द्र सरकारसम्म पहुँच विस्तार गरेर काम गर्ने र सबै नागरिकका समस्याहरु हल गर्न कटिबद्ध रहेको बताए ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं ७ बाट गठबन्धनबाट प्रतिनिधि सभातर्फ मानुषी यमी भट्टराई, प्रदेश सभा(क)मा नेकपा एसका बसन्त मानन्धर र प्रदेश सभा(ख)मा तामाङको उम्मेदवारी छ ।