November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

संविधान बिरोधी शक्तिलाई परास्त गर्न टोल टोलबाट जुटौं : अर्जुन जोशी

1.7K

पर्वत । नेपाली कांग्रेसको तर्फबाट पर्वत जिल्ला प्रतिनिधिसभा उम्मेदवार अर्जुन जोशीले बकम्फुसे गफ मात्रै दिएर जनतामा भ्रम छर्ने एमाले अध्यक्ष केपी ओली प्रवृति बिरुद्ध सबैजना एक हुन आवश्यक भएको बताएका छन् ।

निर्वाचनको दौरान चुनावी प्रचारप्रसारमा जनतामाझ घरदैलोमा निस्किएका जोशीले दक्षिण पर्वतको विहादी गाउँपालिकामा कार्यकर्ताहरूमाझ कुरा गर्दै संविधान बिरोधी शक्तिलाई परास्त गर्न टोल टोलमा सन्देश बाँड्दै चुनावी अभियानमा होमिन अपिल गरे ।

पर्वतको भौगोलिकतामा अहिलेको आवस्यकता रेल, पानीजहाज हैन घर गाउँमा खानेपानी, स्वास्थ र स्थानिय पुर्वाधार हो, जनतालाई सिधा प्रभाव पार्ने, जनस्तरका विधमान समस्याको पहिचान गरेर त्यसको समाधान गर्न कांग्रेस तयार छ, जोशीले भने ।

Advertisement

स्याङ्जाको वालिङबाट रानीपानी बर्राचौर जोड्ने सडकलाई एमालेले आफ्नो कारण बनेको भन्दै भ्रमात्मक प्रचार गरेको भन्दै जोशीले कांग्रेसको तर्फबाट गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा साबिक पर्वत २ बाट निर्वाचित सांसद उमा अधिकारीको पालामा निर्णय भएपछि दक्षिण पर्वतलाई मोटरबाटोसँग जोड्ने काम भएको बताए ।

‘दक्षिण पर्वतको समग्र विकासको हिस्सेदार कांग्रेस हो, प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतका गठबन्धन तर्फका साझा उम्मेदवार जोशीले भने प्रदेश सभाको एक नम्बरमा धेरै काम भइसकेका छन् अब पालो दुई नम्बरकै हो, त्यसको लागि कहाँ के समस्या छ सुझाव दिनु, समाधान गर्ने मेरो प्रतिबद्धता भयो’, उनले भने ।

दुई तिहाइको सरकार हुँदा एमालेले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन बाहेक सबै गर्न सक्ने अवस्थामा समेत सिन्को नभाँचेकोले २०७४ को निर्वाचनमा कांग्रेस पराजित हुनु दुर्भाग्य भन्दै जनताबाट अब उक्त गल्ती नदोहोरिने विश्वास पोखे ।

त्यस्तै प्रदेशसभा अन्तर्गत पर्वत २ का उम्मेदवार ऋषिकेश तिवारीले २०४६ सालमा पन्चायत बिरुद्ध एकजुट भएजस्तै अहिलेको गठबन्धन समयको माग भएको बताए । देश बचाउन र संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने अवस्था आएको भन्दै तिवारीले आन्तरिक मनमुटाव त्यागेर सबै कांग्रेस जिताउने अभियानमा होमिन आग्रह गरे । कहिलेकाहीँ पार्टीकै नेताबाट जानी नजानी गल्ती हुने भन्दै तिवारीले भने, ‘हिजो कसले के गल्ति गर्यो, को कहाँ चुक्यो भनेर अल्झिने हैन अब सबै एक हुने समय आएको छ ।’

प्रतिनिधिसभा र प्रदेशसभा तर्फका दुबै उम्मेदवारले पर्वत २ मा २०५६ पछि कांग्रेस हारेको हारेइ भएको भन्दै आन्तरिक एकताको आह्वान सहित टिकट पाउने र नपाउनेको हिसाबकिताब छोडेर जनतामाझ सबै अर्जुन जोशी र सबै ऋषिकेष तिवारी बनेर मत माग्न लाग्न आग्रह गरे ।