November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर देश हाँक्न योग्य छु: प्रकाशमान सिंह

5.9K

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको दाबी गरेका छन् । यसअघि पनि उनले देशको नेतृत्व गर्न आफू तत्पर रहेको प्रतिक्रिया दिंदै आएका थिए ।

बुधबार विहान संचारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू योग्य रहेको बताएका हुन् । सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको बताए ।

उनले देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताए । आफूमा कुनै किसिमका लोभ नरहेको उल्लेख गर्दै प्रधानमन्त्री बन्नका लागि आफूमा सबै किसिमको योग्यता पुगिसकेको उनको भनाइ थियो ।

Advertisement

नेता सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा आफूबिरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवारहरु खडा भएपनि स्थानीयहरुको कामका लागि आफू नै योग्य रहेको बताए । उनले स्वतन्त्र उम्मेदवारहरु अहिले परीक्षणको क्रममा रहेकाले सबैले एकअर्काको गलत प्रचारप्रसार नगरी आफ्ना एजेण्डाहरुलाई जनताबीचमा लैजानुपर्ने आवश्यक्ता भएको बताए ।

नेता सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति इंगित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएको दललाई फुटाइ अर्को दलमा मिलेकाहरु पनि रहेको उल्लेख गर्दै जनताको साथ आफूलाई रहेकाले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए ।