काठमाडौं । नेपाली कांग्रेसमा परिवारवाद हाबी हुँदा राजनीतिमा सक्रिय महिलाहरु ओझेल पर्नुपरेको गुनासोहरु सार्वजनिक भएका छन् ।
आगामी मंसिर ४ मा हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको रस्साकस्सी चलिरहँदा बर्षौदेखि पार्टीको राजनीतिमा योगदान गरेका महिलाहरु परिवारवाद हाबी हुँदा र नातागोतालाई प्रश्रय दिंदा आफूहरु ओझेल परेको गुनासो गर्दै आएका छन् ।
शक्ति र सम्बन्धका आधारमा एकै परिवारका श्रीमान–श्रीमती एकसाथ सिफारिस भइरहँदा केही महिलाहरु श्रीमान सक्रिय राजनीतिमा रहँदा आफ्नो योगदान ओझेल परेको बताउँदै आएका छन् । काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवारमा पराजित भएकी सिर्जना सिंहले आफ्ना श्रीमान प्रकाशमान सिंहको राजनीतिलाई जोडेर आफूमाथि अपमान भएको गुनासो गर्दै आइरहेकी छन् । उनले आफूले राजनीतिमा पुर्याएको भूमिकाको अवमूल्य भएको गुनासो व्यक्त गर्दै आइरहेकी छन् ।
त्यस्तै कांग्रेसको इतिहासमा ओझपूर्ण भूमिका निर्वाह गर्दै आएको कोइराला परिवारका तीन सदस्य डा.शेखर कोइराला, डा.शशांक कोइराला र नेत्री सुजाता कोइराला सक्रिय राजनीतिमा रहे पनि दाजुभाईलाई अघि बढाउँदा सुजाता ओझेल परेको गुनासो गर्दै आइरहेकी छन् ।
गृहमन्त्री समेत रहेका बालकृष्ण खाँण र मञ्जु खाँण, प्रधानमन्त्री शेर बहादुर देउवा र प्रथम महिला डा.आरजु राँणा देउवाले सजिलै अवसर पाउँदा नेविसंघका पूर्वअध्यक्ष भइसकेका महेन्द्र शर्मा र साधना घिमिरेलाई पार्टीले अवसर प्रदान गर्न सकेको छैन । त्यस्तै नेता प्रदिप पौडेल र एन्जिला न्यौपाने दुवै राजनीतिमा सक्रिय भए पनि पार्टीले उचित भूमिका नदिएको गुनासो गर्दै आइरहेका छन् । ‘सक्रिय राजनीतिमा रहेका श्रीमानले अवसर पाउँदा उस्तै भूमिकामा रहेकी महिला(श्रीमती)लाई ‘ब्याक’ गराइनु कस्तो न्याय हो ? कस्तो लोकतन्त्र हो ? कहाँ हरायो समावेशीता ?’ एक नेत्री प्रश्न गर्छिन ।
नेविसंघको क्याम्पस इकाइ हुँदै केन्द्रिय समितिमा बसेर शसक्त भूमिका निर्वाह गरेकी नेत्री साधना घिमिरे नेतासंग विवाह हुंदैमा महिलाले राजनीतिबाटै बिश्राम लिनुपर्छ भन्ने कुरा महिला माथिको राजनीतिक हिंसा भएको बताउँछिन् । उनी भन्छिन्,‘ नेताको पत्नि (गृहिणी भएर ‘जय नेपाल भाउजु’ खाएर) नेत्री बनेकाहरु र कलेज लेबलबाटै राजनीतिक फिल्डमा खटेर नेत्री बनेकाहरुको जमिन–आकाशको भिन्नता छुट्टाएर टिका टिप्पणी गर्नु उचित हुन्छ ।’
२०५७ सालमै महेन्द्र क्याम्पस दांङमा स्वयवियू सदस्य हुँदै, काठमाडौंको पद्यमकन्या क्याम्पसमा स्ववियू कोषाध्यक्ष, नेविसंघ क्याम्पस इकाइ सभापति साथै नेविसंघ केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकी साधना कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि हुन् । उनी यस पटक प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ सिफारिस भएकी थिइन । उनले राजनीतिक हिंसाको विषय शसक्त रुपमा उठाएकी हुन् ।
विद्यार्थी नेत्री एलिजा ढकालको धारणा पनि साधनासँग मिल्दो छ । उनी सामाजिक संजालमा लेख्छिन्,‘हामीलाई आफ्नो जिन्दगी नै राजनीतिलाई दिएका, आफ्नो जीवन बाँच्नै बिर्सिएर पार्टीभित्र रगत, पसिना बगाएका हाम्रा दिदीहरुको माया छ । हाम्रो साथीहरूको वर्तमान र बहिनीहरुको भविष्यको चिन्ता छ। उँधो गतिमा रहेको हाम्रो पार्टीको चिन्ता छ तर भजन मण्डलीहरु भनिरहेका छन् लोकतन्त्र जोगाउन पार्टी, संगठनको काम होइन, भाउजुहरुको गुलामी गरौँ।’