November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं १ मा ह्याट्रिक गरिसकेका प्रकाशमानले आफ्नो क्षेत्रमा सक्रियता बढाए

7.6K

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं १ मा सक्रियता बढाएका छन् । उनी अहिले आफ्नो क्षेत्रका विभिन्न तह र तप्काका नागरिकको मनोभावना मिहिन ढंगले बुझ्दैछन् । सो क्रममा आज उनले काठमाडौं १ का युवा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् ।

छलफलमा सहभागी विद्यार्थीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना समस्या र अपेक्षाहरु सिंहसामु राखेका छन् । लोकसेवा आयोगको परिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने, शिक्षाका लागि विदेश जाने ट्रेन्ड रोक्नुपर्ने, नेपालमा रहेको करको दर घटाउनुपर्ने, नीजि सवारी साधन किन्दा धेरे पैसा विदेशिँदा देशको अर्थतन्त्र कमजोर बनेकाले त्यसलाई निरुत्साहित गर्दै सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्ने र ऐन कानुन व्यवहारिक बनाइनुपर्नेमा उनीहरुको जोड थियो ।

त्यस्तै, शिक्षा प्रयोगात्मक बनाउनुपर्ने, कलेजले लिइरहेको मनपरि शुल्क नियन्त्रण गर्नुपर्नेमा केही जोड थियो भने केही युवा विद्यार्थीहरुले बालबालिकालाई कुलतबाट जोगाउन धुम्रपान र मद्यपान बालबालिकालाई बेच्न नमिल्ने नियम ल्याउनुपर्नेतर्फ पहल गर्न आग्रह गरे । उनीहरुले आफ्नो क्षेत्रका संसद सिंहलाई आफुसँगको अपेक्षाबारे पनि प्रश्न गरेका थिए ।

Advertisement

जवाफमा नेता सिंहले विदाको दिनमा समय दिएर कार्यक्रममा सहभागी भएकोमा युवा विद्यार्थीलाई धन्यवाद दिँदै यआजको छलफल शुरुवात मात्रै भएको बताए । उनले राजनीतिप्रति विस्तारै युवाहरुको चासो बढ्नु सकारात्मक रहेको बताए । “युवालाई राजनीतिमा वास्ता छैन भनिन्थ्यो । तर, हालसालैका घटनाक्रमले युवाहरुलाई पनि चासो छ भन्ने देखाएको छ । यहाँहरुले दिनुभएको सुझाव र राख्नुभएको मुद्दा अत्यन्त सान्दर्भिक छ । अब संसदमा तपाईहरुले दिएको सुझाव र यही पुस्ताको सुझाव लिएर जान्छु । तपाईंहरुले उठाउनुभएका विषय कार्यान्वयन गराउने प्रतिवद्धता गर्दछु ।’

काठमाडौं १ मा सर्वसम्मत सिफारिसमा परेका सिंहले २०७४ को चुनावमा विवेकशील साझाका रवीन्द्र मिश्रसँग प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा सिंह ८१९ मतान्तरले विजयी भएका थिए । सिंहले लगातार तीन पटक चुनाव जितिसकेका छन् । पहिलो संविधानसभामा प्रत्यक्षतर्फ माओवादीको लहर चल्दासमेत सिंहले सहजै विजयी भएका थिए । २०७० सालमा सिंहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाललाई फराकिलो अन्तरले हराएका थिए । त्यस्तै ०७४ सालमा एमाले र माओवादीले वाम गठबन्धन गरे पनि सिंह विजयी भएका थिए ।