November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पार्टीले सिफारिस गरेका पत्रकारलाई संसदमा पठाउन प्रेस युनियनले पहल गर्ने

2.4K

काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले देशभरबाट पार्टीले सिफारिस गरेका युनियनका पत्रकारलाई संसदमा पठाउन पहल गर्ने भएको छ ।

प्रेस युनियनले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस भएका प्रेस युनियनमा आवद्ध पत्रकारसँग विहीबार काठमाडौँमा अन्तक्र्रिया कार्यक्रम गरी युनियनकर्मीलाई संसदमा पठाउन पहल गर्ने बताएको हो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संसदमा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकार प्रतिनिधित्व गरे प्रेस युनियनको साख बढ्ने बताउँदै प्रतिनिधीत्वका लागि युनियनले पहल गर्ने बताए । ‘युनियनमा आवद्ध पत्रकारलाई संसदमा प्रतिनिधित्व गराउन हामी पार्टीका शीर्ष नेतृत्व र संसदीय वोर्डका सदस्यको ध्यानाकर्षण गराउँछौँ,’ उनले भने ।

Advertisement

युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारलाई संसदमा प्रतिनिधित्व गर्न सके पत्रकारको आवाज देशव्यापी लैजान सकिने बताए । पूर्वअध्यक्ष वाग्ले तनहुँ क्षेत्र नं १ प्रदेश (क)बाट समानुपातिकतर्फ सिफारिस भएका छन् ।

युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले सम्भावना बोकेका पत्रकारलाई संसदमा प्रतिनिधित्व गर्न प्रेस युनियनले पार्टीको केन्द्रीय नेतृत्वलाई दवाव दिनुपर्ने बताए । पूर्वअध्यक्ष पोखरेल सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधीसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् ।

युनियनका सल्लाहकार एवम् वरिष्ठ पत्रकार कविर राणा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधीसभामा प्रतक्ष्यतर्फ उम्मेवार सिफारिस भएका छन् । युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य चितवन क्षेत्र नं २ प्रदेश (ख) बाट प्रत्यक्षतर्फ, युनियनका निवर्तमान कोषाध्यक्ष सरोज अधिकारी धादिङबाट प्रदेशसभाको समानुपातिक, युनियनका पूर्व उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी ओखलढुङ्गाबाट प्रतिनिधीसभा समानुपातिक उम्मेद्वार सिफारिस भएका छन् ।

यस्तै, युनियनका पूर्वसचिव सन्तोष न्यौपाने काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)बाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् भने युनियनका नेता एवम् नेपाल पत्रकार महासंघ उपत्यका प्रतिष्ठान शाखाका सचिव रोशन पाण्डे काभ्रेबाट प्रदेशसभा समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन् ।

यस्तै, युनियनका नेता झपेन्द्रप्रसाद गैरे पाल्पाबाट प्रदेशसभा समानुपातिक उम्मेद्वार, परमेश्वर साह सिरहाबाट, चित्रकुमार मिजार सिन्धुपाल्चोकबाट उम्मेदवारका लागि सिफारिस भएका छन् । प्रेस युनियन धनकुट्टा सभापति हिमा चेम्जोङ साथै दाङबाट सपना बोहोरा पनि उम्मेदवारका रुपमा सिफारिस भएका छन् ।

देशभरबाट ५० भन्दा बढी युनियनकर्मीलाई पार्टीले प्रतिनिधीसभा तथा प्रदेशसभा प्रतक्ष्य तथा समानुपातिक उम्मेद्वारका रुपमा सिफारिस गरेको युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिए । महासचिव पौडेलले उम्मेदवार सिफारिसमा परेका देशभरका पत्रकारको तथ्याङ्क सङ्कलन गरी उम्मेदवार बनाउन पहल गर्ने बताए ।

युनियनका उपाध्यक्ष भीष्मराज ओझाले पार्टीले देशभरबाट उम्मेदवारका लागि सिफारिस गरेका युनियनमा आवद्ध पत्रकारलाई उम्मेद्वार बनाउनका लागि शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउने बताए । ‘युनियनमा आवद्ध सबै पत्रकारलाई उम्मेदवार बनाउन नसकेपनि दवावस्वरुप केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउँछौं’,उनले भने ।