काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा बनाएको दललाई एक दुई वर्ष टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनु नै योग्यतको प्रमाण मान्न नसकिने बताए ।
‘नयाँ दलहरु के भन्छन् भने पुरानाले गर्न सकेन । अब हामी आउँछौं, गर्छौ भन्छन्,’ नेता सिंहले भने, ‘आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक दुई वर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउनसक्ला ? क्षमता होला ?’ राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो होइन भन्दै नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत केछ भनेर प्रस्न समेत गरे ।
अहिलेको व्यवस्थामा भ्रष्टाचार बढ्यो भनेर आलोचना हुने गरेको भन्दै उनले यस्तो अमूर्त कुरा गरेर नहुने बताए । भ्रष्टाचार गर्ने को हो ? उसैलाई यो हो भनेर भन्न सक्नुपर्ने उहाँको धारणा थियो । स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने उनले बताए । व्यवस्थमा रहेको कमजोरी सच्याउनका लागि राम्रो गर्ने मान्छेलाई मौका दिनुपर्ने सिंहको भनाई थियो ।
कांग्रेस काठमाडौं १ का सांसद समेत रहेका सिहंले बुद्धि भएका र काम गर्नसक्ने जनशक्ति विदेशिनबाट रोक्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सिपमूलक तालिम केन्द्र खोल्नुपर्नेमा जोड दिए ।
नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर कांग्रेसले देशमा राजनीतिक स्थायित्व कायम गरि सम्पन्नताको अभियानमा लैजाने समेत बताए ।
अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको सिहको भनाई छ । शिक्षा सँगै सीप दिनेकामको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको रुपमा विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्ने गरि कम्तिमा एक डाक्टरको ब्यवस्था गर्नुपर्ने बताउँदै क्षमतावान युवाहरुलाई विदेशिन रोकेर रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताए ।
नेता सिंहले उक्त कुरा काठमाडौ महानगरपालिका को वडा नं १० मा निर्माण सम्पन्न भयको कुमाले धारा तथा पार्क उदघाटका क्रममा बताएका हुन् । कार्यक्रममा बागमती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले समेत बिकास निर्माणका प्रयासहरुका बारेमा आफ्नो धारणा गरेका थिए ।
नेता सिंहले आफूले पैसा कमाउन, नाम कमाउन नभइ सेवाका लागि राजनीति गरेको गरेकाले भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको दाबी गरे ।