नवलपुर । कलिलो उमेरमै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर युवाहरुको मुद्दालाई शसक्त रुपमा उठाउँदै आएका गणेश सापकोटा नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
नेपाली कांग्रेसको महासमिती सदस्य तथा महाधिवेशन प्रतिनिधि उनी पार्टीले युवाहरुलाई स्थान दिनुपर्ने बताउँदै आएका छन् । केही बर्ष यता आफ्नै क्षेत्रमा बसेर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय सापकोटाले यस पटक आफू आधिकारिक उम्मेदवार बन्ने र चुनाव जितेर जनताको सेवा समर्पित हुने बताउँछन् ।
पाका नेताहरुले विश्राम लिएर युवाहरुलाई अवसर दिनुपर्ने बताउँदै आएका उनी भन्छन्,‘म यो क्षेत्रका जनताको घर घर पुगेको छु, पुगिरहेको छु । सबैको म प्रति सहानुभुति छ, माया गर्नुभएको छ । गाउँको मुहार फेर्न नयाँ अनुहार चाहियो भन्नुभएकोछ । मेरो आवश्यक्ता महसुस जनताले गरेका छन् ।’
विपत्तिमा परेका र समस्यामा परेका नागरिकहरुलाई स्वतस्फूर्त रुपमा सहयोग गर्दै आएका सापकोटा कोभिडका समयमा अलपत्र परेका यात्रुहरुलाइ घर घर पुर्याउने र पैदल हिंड्नेहरुलाई लगातार खाना खुवाएर चर्चामा आएका थिए । गाउँका विद्यालय, स्वास्थ्य चौकी साथै समूदाय स्तरमा सहयोग जुटाउँदै आएका उनी गैंडाकोट हरियाली अभियानमा पनि जोडिएका छन् ।
‘यस पटक आधिकारिक उम्मेदवार बन्छु, पार्टीले न्याय गर्नेछ । त्यसपछि मतदाताको स्नेहले चुनाव जित्छु’, उनको दाबी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोही क्षेत्रबाट सापकोटासहित डा.शंशाक कोइराला, विनोद चौधरी, हेमराज कोइराला लगायतको नाम कांग्रेसले सिफारिस गरेको छ । त्यस्तै समानुपातिकतर्फ नौं जना र क्षेत्र नम्बर १(क)प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस भएको छ ।