सर्लाही । सांसद एवम नेपाली कांग्रेसका प्रभावशाली मानिएका नेता अमरेशकुमार सिंहलाई कारवाही गर्दै सर्लाही क्षेत्र ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरिएको छ ।
सोमबार बिहान बसेको नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिको बैठकले मङ्सिर ४ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा थापाको एकल नाम सिफारिस गरेको हो । २०७० र ०७४ सालमा लगातार दुई पटक यो क्षेत्रबाट कांग्रेसका डा.अमरेशकुमार सिंह निर्वाचित भएका थिए । सिंह यो पटक पनि चुनाव लड्ने तयारीमा छन् । तर, क्षेत्रीय कार्य समितिको बैठकले सिंहको नाम नै सिफारिस गरेन ।
कांग्रेस सर्लाही–४ का क्षेत्रीय सभापति रामआश्रय साहले सङ्घीय सांसदका लागि महामन्त्री थापाको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए । क्षेत्रीय कार्य समितिको बैठकमा सहभागी नेपाली कांग्रेस मधेश प्रदेशका उपसभाति एवं प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले सबैको माग अनुसार प्रतिनिधिसभातर्फ महामन्त्री थापाको एकल नाम सिफारिस गरिएको बताए ।
‘सबैले उहाँकै नाम सिफारिस गरौँ भन्नुभयो, सोही अनुसार एकल नाम पठाइएको हो,’ मन्त्री सिंहले भने । पार्टीको संस्थापन पक्षका मन्त्री सिंह आफै पनि क्षेत्र नम्बर ४ (क)बाट पुनः प्रदेशभा सदस्यको उम्मेदवारका रुपमा एकल सिफारिसमा परेका छन् । क्षेत्रीय कार्य समितिको सिफारिसमै नपरेका वर्तमान सांसद डा. अमरेशकुमार सिंहले आफूले नै टिकट पाउने दावी गरेका छन् ।
‘दुई चार जना बसेर कसैको नाम सिफारिस गर्दैमा केही फरक पर्दैन्, पार्टीले मलाई नै टिकट दिन्छ, त्यसमा म ढुक्क छु,’ सिंहले भने, ‘म फेरि पनि चुनाव लड्ने हो ।’ सांसद सिंह नेता डा.शेखर कोइराला निकट मानिन्छन् । डा. सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्रप्रसाद सिंह पक्षबीच जिल्ला अधिवेशनमा विवाद भएदेखि बोलचाल छैन ।
डा. सिंहले आफूसँग बोलचाल नै नभएका व्यक्तिहरुले आफ्नो नाम सिफारिस गर्ने आस समेत नगरेको र क्षेत्रले सिफारिस नगरे पनि पार्टीले आफूलाई टिकट दिने विश्वास व्यक्त गरे । कांग्रेसको बलियो पकट मानिने क्षेत्र नं ४ मा पछिल्लो समय सिंहद्वयबीच टकराब बढ्दा सो क्षेत्रमा कांग्रेस कमजोर बन्न पुगेको विष्लेषण भइरहेको छ ।
नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण रायले निर्वाचित सांसदलाई निषेध नै गरेर एकलौटी हिसाबले उम्मेदवार सिफारिस गरेको सुन्दा दुःख लागेको बताए ।
यता, कांग्रेसको अनुशासन समितिले असार ४ गते नेता सिंहलाई पत्र थमाएर निलम्बन गरेको जनाएको छ । समितिका संयोजक एवम् उपसभापति डा.सरोज कुमारद्वारा हस्ताक्षर पत्रमा भनिएको छ, ‘उपरोक्तसम्बन्धमा पार्टीको आधिकारिक उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात, असहयोग गर्ने सर्लाही क्षेत्र नं.४ बाट निर्वाचित सांसद माननीय अमरेशकुमार सिंहलाई जिल्ला अनुशासन समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा ४ को ख बमोजिम मिति २०७९–०३–०२ गते निलम्बन गरि निर्णयको प्रतिलिपि जानकारीको लागि पठाइएको छ ।’
सर्लाही कांग्रेसले सिंहलाई निलम्बन गरेको निर्णयको बोधार्थ कांग्रेसको केन्द्रीय कार्यालय र केन्द्रीय अनुशासन समितिलाई पनि दिएको छ । स्थानीय तहको निर्वाचनमा सर्लाहीमा नेता सिंहले अन्तरर्घात गरेको आरोप लागेपछि अनुशासन समितिले निलम्बन गरेको जनाएको छ । सिंह कारवाहीमा परेपछि गगन थापाको नाम सिफारिस गरिएको जनाइएको छ ।