काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा चुनावी क्षेत्रका बारेमा विभिन्न समाचार बाहिरिएपछि दुवै नेताले आफ्नो क्षेत्रबारे प्रष्टीकरण दिएका छन् । थापाले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन् ।
आफ्नो नामबाट कास्की क्षेत्र नम्बर १ मा आवेदन परेपछि महामन्त्री थापाले आफूले काठमाडौं क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद १ मैले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।’
महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा झापा–१ बाट शर्माको मात्रै एकल नाम आएको थियो ।
महामन्त्री शर्माले तेस्रोपटक आफ्नै निर्वाचन क्षेत्रबाट संघीय संसदमा चुनाव लड्ने पक्का भएको हो । शर्मा झापा–१ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए । शर्मा २०७४ को चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।