काठमाडौं । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरीको स्वर्गारोहणको तेह्रौं दिनमा नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा शोकसभा आयोजना गर्दैछ ।
कांग्रेसले बिहीबार दिउँसो ३ बजे राष्ट्रिय सभामा शोकसभाको आयोजना गर्न लागेको जनाएको छ । उक्त शोक सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि हुनेछन् । त्यस्तै कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले गिरीको १३औं पुण्यतिथिमा देशभर दीप प्रज्वलन गर्ने भएको छ ।
नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उनको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका छन् ।
नेता गिरीको गत भदौ ४ गते राति घाँटीको क्यान्सरबाट ७४ वर्षको उमेरमा निधन भएको थियो ।