काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटामाथि आक्रमण भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि एमाले नेता महेश बस्नेतका लागि टाउको दुखाइ भएको छ । सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भाइ हुन् ।
भिडियोमा सार्वजनिक कार्यक्रममा उनीमाथि आक्रमण भएको देखिन्छ । आक्रमण हुन थालेपछि उनी भागेको र ‘पुलिस खोइ’ भन्ने आवाज पनि सुनिन्छ । मंगलबार दिउँसोबाट भाइरल भइरहेको भिडियो स्थानीय तहको निर्वाचनताकाको हो ।
माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेको घट्नाको भिडियो सामाजिक संजालमा भाइरल भएको हो । तर बस्नेतले फेक भिडियो हालेर आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेका छन्। उनले आफूलाई लखेटेको भन्दै सिन्धुपाल्चोकको भिडियो भाइरल गरिएको जिकिर गरेका छन्।
भक्तपुरका वाईसीएल कार्यकर्ताबाट लखेटिएको भनिएपछि बस्नेतले आपत्ति जनाएका हुन् । बस्नेतले यसविरुद्ध आफू कानुनी प्रक्रियामा जाने पनि उल्लेख गरेका छन्।