काठमाडौं । सत्ता गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा मन्त्रिपरिषद विस्तारका बारेमा छलफल हुने एक नेताले बताए । उनका अनुसार बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने भएको छ ।
त्यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने जनाइएको छ।
सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा सर्वत्र आलोचना चुलिएको छ । यही कारण सत्ता गठबन्धनका दलहरुमा मन्त्रिपरिषद विस्तारबारे दबाब बढेको छ ।
यसअघि आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच मन्त्रिपरिषद विस्तारलाई छिटो टुंगोमा पुर्याउने सहमति भएको थियो ।
राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको अडान छ । त्यस्तै अदालतमा विचाराधिन मुद्दाका कारण नेकपा एकीकृत समाजवादीले त्यसको निर्णय पर्खन आग्रह गर्दै आएको छ ।