काठमाडौं– कोपा डेल रे अन्तर्गत अन्तिम ३२ टिमको खेलमा कोर्नेलाविरुद्ध बार्सिलोनाका मिडफिल्डर इलाक्स मोरिबा सामेल गरिनु चकित पार्ने निर्णय नै थियो। सिनियर टिमको रोचक डेब्यू १८ वर्षका उनका लागि उत्साहको समय थियो। भन्छन्, ‘खेल अघिको रातभर निदाउन सकिनँ।’
स्पेनमा ‘सेगुन्डा डिभिजन बी’ (वरियतामा तेस्रो डिभिजन) मा रहेको कोर्नेलासँग बार्सिलोना गोलमा बलियो रुपमा प्रस्तुत हुन सकेको थिएन। यतिसम्म कि बार्सिलोनाले ९० मिनेटभित्र नै दुई पेनाल्टीमा गोल गर्न सकेन। खेलको ३९औँ मिनेटमा मिरालेम पियानिच र ८०औँ मिनेटमा उसमान डेम्बेले पेनाल्टीमा गोल गर्न चुके। अतिरिक्त समयमा पुगेको खेलमा डेम्बेले र मार्टिन ब्रेथवेटको गोलमा बार्सिलोना विजयी भयो।