March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

महाशिवरात्रि महोत्सव सम्पन्न

२०८१ फाल्गुन १५

685

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा नेपाल मानव धर्म सेवा समितिले महाशिवरात्रि महोत्सव २०८१ भव्य रूपमा सम्पन्न गरेको छ ।

महोत्सवलाई अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री विभूजी महाराजजीले मानव जीवनमा अध्यात्मको महत्त्व र जीवनलाई सहज बनाउन आवश्यक उपायहरूबारे मार्गदर्शन दिएका थिए ।

बुधबार समितिको केन्द्रीय कार्यालय प्राङ्गण, काठमाडौंमा आयोजित कार्यक्रममा विभूजी महाराजजीले ब्रह्माण्डलाई सम्झन गाह्रो भए पनि आफूभित्र भएको चेतनालाई सम्झन खोज्नुपर्ने बताए ।

Advertisement

उनले भने, ‘जीवनमा आफूलाई हाँसीहाँसी परिवर्तन नगरे समयले रुवाएर सिकाउनेछ । जहाँ संसार छ, त्यहाँ संसारको बन्धन पनि हुन्छ । हामी त्यो बन्धनबाट मुक्त हुन प्रयास गर्नुपर्छ। यदि संसारप्रति मोह नहुने हो भने हामी खुशी–खुशी संसार छोड्न सक्थ्यौं।’

संसारको मोहमा रमाउने प्रवृत्ति देखाउँदै उनले थपे, ‘धेरै मानिसले सबै दुःख कम होस् भन्ने चाहन्छन् । त्यो त संसार छोडेर जानुमै मात्र सम्भव छ। तर के हामी जान तयार छौँ? छैनौँ भने, यस संसारको खिचातानीमा फसिरहेका छौँ। सिद्ध पुरुषहरूले आउँदा र जाँदा केही दुःख मानेनन्, संसारलाई हाँसीहाँसी छोडेर गए।’

उनले संसार साकार र निराकार दुबै भएको भन्दै मानवले गुण र तत्वलाई मिश्रण गरेर नयाँ सिर्जना गर्न सक्ने बताए । ‘मानवसँग त्यो क्षमता छ, जसले गुण र तत्वलाई मिश्रण गरी नयाँ सिर्जना गर्न सक्छ। संसार दुई तत्वमा बाँधिएको छ— साकार र निराकार। महान पुरुषहरूले हामीभित्र रहेको स्पन्दनलाई चिनाउन खोज्छन्, जसले हामीलाई साकारबाट निराकारमा लैजान सक्छ ।’

उनले मनलाई भाग्न नदिई निरन्तर चलिरहेको स्वासमा केन्द्रित गर्नुपर्ने सुझाव दिए । ‘आध्यात्मिक र भौतिक जगत बेग्लाबेग्लै होइन, तिनीहरूलाई भोग्ने व्यक्ति एउटै हो। हामीले प्रभुको सच्चा नाममा जोड दिनुपर्छ। स्वासको माध्यमबाट त्यो सम्भव हुन्छ। मनलाई भाग्न नदिई निरन्तर चलिरहेको स्वासमा ध्यान केन्द्रित गरेमा त्यसले उच्च अवस्था प्राप्त गर्न मद्दत गर्छ ।’

सत्सङ्ग कार्यक्रममा बोल्दै समितिकी केन्द्रीय प्रभारी महात्मा चमेली वाईजीले शिवरात्रिमा आफ्नै प्राणेश्वरको ध्यान गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘हृदयमा अन्धकाररूपी अज्ञानतालाई प्रकाशरूपी शिवशक्तिले हटाउनुपर्छ। शिव भनेको हाम्रो आत्मा हो। मानव शरीर नै शिवको मन्दिर हो। सम्पूर्ण ब्रह्माण्डका स्रष्टा स्वयं हाम्रो हृदयमा विराजमान छन्।’

उनले अशान्त मनलाई अध्यात्मले मात्र शान्त बनाउन सक्ने भएकाले ध्यान आवश्यक रहेको बताइन् । ‘जति मन वैराग्यमय बन्छ, उति नै ध्यानमा आकर्षित हुन्छ। त्यसैले मनलाई वैराग्यमय बनाउनुपर्छ।’

सन्त महात्माहरूले ज्ञान, भक्ति र कर्मको त्रिवेणीद्वारा मानव जीवनलाई सहज, सरल र आनन्ददायक बनाउनुपर्ने बताए। महोत्सवमा भजन, नृत्य, तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।

यसै अवसरमा समितिले मंगलबार रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो। रक्तदान कार्यक्रममा ८७ युनिट रगत संकलन भएको थियो, जसमा समितिमा आबद्ध व्यक्ति तथा अन्य स्वयंसेवकहरूले सहभागिता जनाएका थिए।