April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपालको समृद्धि र विकास निर्माणको चाहना पनि बीआरआई परियोजनामा जोडिनु हो: अध्यक्ष दाहाल

770

काठमाडौं । काठमाडौंमा बीआरआई अवसर तथा चुनौती विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार नयाँ चीन स्थापनाको ७५औं वार्षिकोत्सवको सन्दर्भमा काठमाडौंमा आयोजित बीआरआई अवसर तथा चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड बीआरआई परियोजनामा जोडिनुको अर्थ नेपालको समृद्धि र विकास निर्माणको चाहना भएको बताए ।

‘बीआरआईलाई नेपालको जनताको अधिकतम हितमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारेमा गहिरो चिन्तन मनन गर्नु आवश्यक छ,’ दाहालले भने ।

नेपाल र चीनका नेताबीचको सहमतिहरू कार्यान्वयन गर्न बीआरआईमार्फत् सहयोगका विन्दु अझ फराकिलो बनाउन र सहयोगका नयाँ नयाँ क्षेत्रहरु विकास गर्न नेपाल लालायित रहेको अध्यक्ष दाहालले बताए ।

Advertisement

पूर्वाधार विकास, कनेक्टिभिटी र आर्थिक सहयोग अभिवृद्धिमा बीआरआईले जोड दिएको भन्दै उनले पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित भई चीनसँग सहकार्य गर्न पाउँदा खुशी लागेको र सांस्कृतिक, शैक्षिक, कृषि, स्वास्थ्य, पर्यटन लगायत क्षेत्रमा सम्बन्ध प्रगाढ हुँदै गएको बताए ।

ऊर्जा, पुल, सडक, रेल सम्पर्क विस्तार लगायत ठूला परियोजनाहरूमा बीआरआईमार्फत् दुबै देशले महत्वपूर्ण उपलब्धी हासिल गर्ने संभावना औंल्याउँदै दाहालले चीनले पनि महत्वपूर्ण साझेदार ठानेको नेपालले यसबाट फाइदा लिनसक्ने बताए ।

सन् २०१३ मा बीआरआईको विश्वव्यापी परियोजना अगाडि सारेकोमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको प्रशंसा गर्दै उनले वार्षिकोत्सवका उपलक्ष्यमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र चिनियाँ जनताप्रति हार्दिक बधाइ ज्ञापन गरेका थिए । नेपालको तर्फबाट एक चीन नीतिप्रति प्रतिवद्धता समेत जनाएका थिए ।

नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले बीआरआई नेपालका लागि अवसर भएको बताए । उनले बीआरआईका कारण नेपालको पहुँच अन्तर्राष्ट्रिय जगतमा बढ्ने भन्दै नेपालका दलहरूले एउटै विदेश नीति बनाएर अन्तर्राष्ट्रिय विषयमा सहमति खोज्नुपर्ने साथै अनुदान वा ऋणमा बन्ने परियोजना राम्रो छनोट गर्नुपर्ने बताए ।

नेकपा माओवादीका महासचिव देब गुरुङले बीआरआई कार्यान्वयनमा जाने विषय काङ्ग्रेस र एमालेजस्ता ठूला दलहरुले सत्ता समीकरणका बेला गरेको सम्झौतामा अड्किएको भन्दै बीआरआई कार्यान्वयनमा जानुको विकल्प नरहेको बताए । विआर आई ऋणपासो भनिएको सन्दर्भ जोड्दै उनले भने ‘ऋणपासोको कुरा झुटो हो, यसमा सत्यता छैन। राजनीतिक पूर्वाग्रहले अभिप्रेरित छ।

कार्यक्रममा नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली,नेकपा एकीकृत समाजवादूीका उपाध्यक्ष तथा पूर्व सांसद् जगन्नाथ खतिवडा, रुसका लागि पूर्व नेपाली राजदुत तथा पूर्व सांसद् वरिष्ठ लृखक तथा कुटनितिज्ञ हिरण्यलाल श्रेष्ठ,संविधान सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी,चीन अध्ययन केन्द्रका सचिव तथा रे टेलिभिजन एच डि का अध्यक्ष प्रकाशबावु पौडेलले बी आर आई अवसर र चुनौती विषयमा धारणा राखेका थिए ।

नेपाल चीन मैत्री युवा संघ र फेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले चाइना ग्लोवल टेलिभिजन नेटवर्क नेपाली सेवा सँगको सहकार्यमा आयोजना गरेको कार्यक्रम संघका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा भएको थियो भने चाइना ग्लोवल टेलिभिजन नेटवक नेपाली सेवाका प्रमुख सुमेघाले चीनको राजधानी पेचिङबाट भिडीयो सन्देश गरेका थिए ।