काठमाण्डौ । पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको आठौं स्मृति सभा सम्पन्न भएको छ । स्वः गोरे बहादुर खपाङ्गी फाउण्डेशनको आयोजनामा मंगलबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको भवनमा अध्यक्ष हुम थापा मगरको सभापतित्वमा खपाङ्गीको आठौं वार्षिक स्मृति सभा सम्पन्न गरिएको हो ।
सभाको प्रमुख अतिथि प्रतिनिधि सभाका उप–सभामुख ईन्दिरा राना रहेकी थिइन् । विशेष अतिथिहरूमा नागरिक उड्डयन मन्त्रालय गुम्वा विकास समितिका भिक्षु मेघङ्कर स्थविर, मुनी विहारका भिक्षु गरुको स्थविर/भन्ते र अतिथिहरुमा संविधान सभाका कान्छा सदस्य रामकाजी महर्जन लगायतका व्यक्तित्वहरू रहेका थिए ।
सभालाई प्रमुख अतिथि राना मगरद्धारा पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गरिएको थियो भने दिवंगत खपाङ्गीको स्मृतिमा सामुहिक १ मिनेट मौनधारण गरी कार्यक्रम सुरुवात गरिएको थियो ।
प्रमुख अतिथि ईन्दिरा राना र संविधान सभाका कान्छा सभासद महर्जन दुवै वक्ताहरुले आज मुलुकको संविधानमा समावेशी, समानुपातिक, आरक्षण आदि उत्पीडित जातिको लागि जति पनि उपलब्ध भएका कुराहरु सुरुवाति दिनमा महान विचारक गोरे बहादुर खपाङ्गीले उठाएको र मुलुकमा एकाधिकारवाद, यथास्थितिवादको विरुद्ध बुलन्द आवाज उठाएको बताएका थिए ।
कार्यक्रममा भिक्षुद्धय मेघङ्कर स्थविर र गरुको स्थविरलाई अध्यक्ष हुम थापा मगर र स्व. खपाङ्गीको परिवार ( छोरा, वुहारी र छोरी)को हातबाट केही रकम र मायाको चिनो भिक्षुहरुको मन्त्रोचारणका साथ पुन्य दान उपहार दिईएको थियो ।
फाउण्डेशनका सचिव खड्ग सरु मगरले उद्घोषक गरेको उक्त कार्यक्रममा समाजसेवी डा. विष्णु कुमार सिंजाली मगरलाई अनुपस्थित रहेता पनि ताम्रपत्रले सम्म्मान गरिएको थियो । अन्त्यमा, उक्त समारोहको अध्यक्ष हुम थापा मगरले कार्यक्रममा आउने सबैलाई धन्यवाद दिएर कार्यक्रम विसर्जन गरेका थिए ।
स्व. गोरे बहादुर खपाङ्गी २०४६/४७ मा तत्कालीन नेकपा मालेमा विद्रोह गरी आदिवासी जनजाति मङ्गोलको हकहितको लागि भनी जेहाद छेड्दै क्रान्तिको बजाएका थिए । त्यसपछि राष्ट्रिय जनमुक्ति पार्टी खोली महासचिव हुँदै हिन्दुकरणविरुद्ध दशै वहिस्कार अभियान चलाएका उनी राजा ज्ञानेन्द्रको हातबाट टिका ग्रहण गरेपछि भने स्खलिन भएका थिए ।