November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पुलिसको पहिलो शानदार जित

3.3K

काठमाडौं – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। ​कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। 

सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पछ्याएको पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो। पुलिसको जितमा ओपनरद्वय सुनिल धमला र कुशल मल्लले शानदार ब्याटिङ गरे। सुदूरपश्चिमविरुद्ध दुबैले अर्धशतक बनाए।

धमलाले ५७ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए। यस्तै भुर्तेलले ४४ बलमा ९ चौका र एक छक्काको मद्दतमा अविजित ५१ रन बनाउँदा अमित श्रेष्ठ १ रनमा नटआउट रहे। पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए। ​बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए। 

Advertisement

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० बनाएको थियो। ​उसका लागि खडकबहादुर बोहोराले सर्वाधिक ४० रन बनाए। 

यस्तै सन्जु दमाईले ३५, अरुण ऐरीले १३ अर्जुन साउदले १० रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका पाँच ब्याट्सम्यान शून्य रनमा आउट भए।

पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले घातक बलिङ गरे। दीपेन्द्रले ६।१ ओभरमा २ मेडन राख्दै १० रन खर्चेर ४ विकेट लिएका हुन्। ढकालले १० ओभरमा ३ मेडनसहित १८ रन दिएर ४ विकेट झारे।